१२ असार २०८३, शुक्रबार

टमाटर नबिकेर कुहिएपछि किसानलाई भोक न निद्रा

बैशाख २८, २०७७
टमाटर नबिकेर कुहिएपछि किसानलाई भोक न निद्रा

लगानीको दोब्बर मुनाफा हुने आशाले १५ कठ्ठा जमीनमा टमाटरको व्यावसायिक खेती गर्नुभएका मेचीनगर–२ का रमेश दङ्गाल अहिले नबिकेर कुहिन लागेका टमाटर हेर्दै पुर्पुरोमा हात राख्छन्। कोभिड–१९ को सङ्क्रमण रोक्न लगाइएको बन्दाबन्दीका कारण व्यापारीहरू आउन छाडेपछि टमाटर बारीमै खेर गएको छ ।

'बारीभरि टमाटर पाकेर राताम्य छन्, बिक्री छैन', बन्दाबन्दीको मार खेपिरहेका दङ्गाल भन्छन्, 'सबै लगानी डुब्यो, भोक न निद्राको स्थिति सिर्जना भयो ।' उनलेरु चार लाख खर्चेर हुर्काएका ११ हजार बोटमा यतिबेला लटरम्म टमाटर पाकेका छन् ।

कोराना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले गरेको बन्दाबन्दीको प्रत्यक्ष मार किसानमा परेको छ । लाखौँ खर्च गरेर लगाएको बाली पाके पनि बजारसम्म लगेर बिक्री वितरण गर्न नसक्दा उनीहरू ऋणमा डुबेका हुन् । 'यस्तो अवस्था आउँछ भन्ने सोचिएको थिएन', उहाँ भन्छन्, 'टमाटर राम्रो फलेको थियो दोब्बर आम्दानी हुने भयो भनेको त लगानी नै पो डुब्यो ।'

उहाँका बारीमा यतिबेला एक हजार क्विन्टलभन्दा बढी टमाटर पाकेका छन् । भतिजा दिपेश दङ्गालले बर्सेनि टमाटरबाट राम्रो आम्दानी गरेको देखेर उनलेपनि यस वर्षदेखि टमाटर खेती शुरु गरेको बताउँछन् ।

टमाटर खेतीमा होमिनुभएका मेचीनगर–१४ का राजु राईको अवस्था पनि उस्तै दर्दनाक छ । उनले दुई वर्षअघिदेखि दुई बिघा जग्गा लिजमा लिएर टमाटर, बन्दाकोभी र मकैलगायतको खेती गरिरहेका छन् । महेन्द्र राजमार्गको धाइजनमोडबाट एक किलोमिटर दक्षिणमा एक बिघा जमीनमा रोपेको १८ हजार टमाटरको बिरुवाबाट ५० क्विन्टल टमाटर फलेको अनुमान छ ।

बन्दाबन्दीका कारण उनलेउत्पादन गरेका सबै टमाटर बारीमै कुहिएको छ । अरु बेला व्यापारी तथा बिचौलिया बारीमा नै तरकारी लिन आउने गरेका भए पनि यसपालि कोही नआएको उनको भनाइ छ । 'वार्षिक रु दुई लाखभन्दा बढी आम्दानी हुन्थ्यो', उनलेभने, 'यसपटक ५० केजी बिक्यो होला, अरु सबै बारीमै कुहिएर गयो ।'

उत्पादन गर्न हौसला दिने सरकारले उत्पादित वस्तुलाई बजारीकरण गर्न भने कुनै चासो नदिएको किसानहरूको आरोप छ । 'हामी दुःख गरेर उत्पादन गछौँ', राईले भने, 'गाउँ डुलाएर बेच्ने आफूसँग कुनै साधन थिएन, यत्रो उत्पादन खेर जाँदा स्थानीय सरकारले चासो नदिएकामा दुःख लागेको छ ।'
 
मेचीनगर नगरपालिकाको १, २ र ३ नं वडाका किसानले २० बिघाभन्दा बढी जमीनमा व्यावसायिकरूपमा टमाटर खेती गर्दै आएको मेची मूल कृषक समूह मेचीनगरका अध्यक्ष पूर्णबहादुर कटुवाल बताउँछन् । उहाँका अनुसार अधिकांश किसानले जग्गा लिजमा लिएर टमाटर खेती गर्दै आएका छन् । प्रत्येक किसानले पाँच कठ्ठादेखि दुई बिघासम्ममा टमाटर लगाएका छन् । उनीहरू सबैको लगानी यसपालि बन्दाबन्दीले गर्दा डुबेको छ ।
 
'वर्षौँदेखि व्यावसायिक खेती गर्दै आएका किसान बन्दाबन्दीको मारमा परे', उनलेभने, 'शुरुमा भारततिरबाट खुला र लुकीछिपी भित्रिने टमाटरले स्थानीय उत्पादनलाई बजार पुग्नै दिएन, नाका बन्द भएपछि बोलाउँदा बजार सबै बन्द छ भन्दै खरिदेहरू आउन मानेनन् ।' उनले टमाटर बिक्री नहुँदा किसानलाई ऋणको चिन्तामाथि बिहान बेलुकाको छाक टार्नसमेत समस्या हुन थालेको बताए।
 
हिउँदमा पाकेको टमाटर लामो समयसम्म बोटमा टिक्दैन । गर्मीमा दुई–तीन दिनपछि बोटमै कुहिने उनलेबताए। गत वर्ष प्रतिकेजी रु ४० मा बिक्री हुँदै आएको टमाटर यस वर्ष भने प्रतिकिलो रु सात दिँदासमेत बिक्री नभएको किसान बताउँछन् ।
 
विगतमा विर्तामोड, धरान, विराटनगरका व्यापारी आफैँ आएर राम्रै दाम दिएर लैजाने गरेको टमाटर यस वर्ष किसानले कयौँपटक बोलाउँदासमेत कोही नआएको गुनासो छ । 'विर्तामोडको कृषि थोकसम्म पुर्याउँदा प्रतिक्यारेट रु २५० देखि ३०० सम्म दिन्छन्', उनलेभने, 'त्यसमा पनि व्यापारीलाई १० प्रतिशत कमिसन दिँदा प्रतिकेजी रु सात पनि किसानको भागमा पर्दैन ।' यसपालि कृषि थोक बजारसम्म उत्पादनलाई पुर्याउन नपाउँदै नोक्सानी भएको किसानहरूको गुनासो छ ।

एक क्यारेटमा २३ केजी हुने किसानको भनाइ छ । बजारमा यतिबेला व्यापारीले मूल्य रु ३५ देखि ४० सम्ममा टमाटर बिक्री गर्दैै आएका छन् । दुःख गरेर किसानले गरेको खेतीको फाइदा बिचौलियाले लिने गरेको उनीहरूको आरोप छ । स्थानीय सरकार र कृषि ज्ञान केन्द्र झापालाई समेत किसानहरूले टमाटर बिक्रीका लागि पहल गरिदिन आग्रह गरेका छन् । चन्द्रकला भण्डारी,रासस

salt training

कमेन्ट गर्नुहोस्