प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेपालको एक इञ्च मात्र भूमि तलमाथि गरेमा पनि छाड्दैनौं भनेर भारतलाई स्पष्ट रूपमा भन्न सरकारसँग आग्रह गरेका छन् ।
आइतवार प्रतिनिधि सभा बैठकका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले कालापानी उत्पन्न समस्याबारे सरकारका तर्फबाट जानकारी गराएपछि प्रतिप्रश्न गर्दै नेता थापाले यस्तो बताएका हुन् ।
सांसद थापाले केही महिनाअघि उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले कालापानी–लिपुलेक क्षेत्रको अवलोकन गरेको भन्ने सन्दर्भमा समेत प्रश्न गरे ।
‘केही समयअगाडि रक्षामन्त्रीले त्यो ठाउँ (कालापानी क्षेत्र)को अवलोकन गर्नुभएको थियो, के त्यो तीर्थयात्रा थियो ? थिएन भने उहाँले सरकारलाई के बताउनु भयो, र सरकारले यो बीचमा के काम गर्यो ?’ उनले प्रश्न गरे ।
भारतको दादागिरीको प्रतिरोध गर्न कांग्रेस तयार रहेको थापाले बताए । ‘भारतको दादागिरी र चीनको न्यायो सहयोगको प्रतिरोध गर्न नेपाली कांग्रेस र सिंगो नेपाली जनता तयार छ,’ उनले भने, ‘सरकारले हामीबाट के अपेक्षा गरेको हो, हामी जान्न चाहन्छौं ।’