०८ असार २०८३, सोमबार

कोरोनाका पछिल्ला संक्रमित - चितवनबाट पैदल हिंडेरै सप्तरी, स्वाब संकलनपछि फरार !

बैशाख २९, २०७७
कोरोनाका पछिल्ला संक्रमित - चितवनबाट पैदल हिंडेरै सप्तरी, स्वाब संकलनपछि फरार !

सप्तरीको डाक्नेश्वरी नगरपालिकामा एक जना १८ वर्षीय युवामा कोरोना पोजेटिभ संक्रमण पाइएको छ । नगरपालिकाका प्रमुख शिवनारायण साहले उक्त कुराको पुष्टि गरेका छन् ।

तर संक्रमित युवा अहिले फरार छन् । केही दिनअघि स्वाब संकलन गराएपछि उनी घर फर्केका थिए । उनलाई लिन जाँदा उनी घरमा नभेटिएको प्रहरीले जानकारी दिएको छ । उनी र उनको हजुरआमा दुवै घरमा नभएको प्रहरीले बतायो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा स्वाब परीक्षण गर्दा ती युवामा संक्रमण पुष्टि भएको थियो ।

प्रमुख साहका अनुसार ती युवा चितवनमा काम गर्थे । लक डाउन भएपछि उनीसँगै करीब १५ देखि १७ जनाको समूहमा पैदल हिंडेर राजमार्ग हुँदै सप्तरी आएका थिए । उनी सप्तरी आएको २० दिन भएको थियो ।

‘नगरपालिकामा आउनेबित्तिकै ती सबै युवालाई डाक्नेश्वरी नगरपालिकाको एउटा विद्यालयमा संचालित क्वारेनटाइनमा राखेका थियौं,’ साहले भने,‘ त्यसपछि सबै जनाको आरडीटी टेस्ट गरेका थियौं ।’ 

टेस्टमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको थियो । साह भन्छन् – ‘तर, पनि हामीले क्वारेनटाइनमा बसेका ६ जनाको स्वाब संकलन समेत गराएका थियौं ।’

साहले थपे - ‘तर रिपोर्ट आउन समय लागेको कारण ३ दिनअघि ती व्यक्तिलाई क्वारेन्टाइनबाट घर फर्काइएको थियो । उनी घर फर्केपछि आफ्नो घर परिवारका सदस्यहरुसहित विभिन्न मानिसहरूको सम्पर्कमा आएका रहेछन् ।’ त्यो नै सबै भन्दा बढी खतराको बिषय बनेको उनले बताए ।

संक्रमण पुष्टि भएका ती युवाको खोजीमा प्रहरी लागेको छ । ‘संक्रमितको खोजी जारी छ, भेटिएपछि सदरमुकाम राजविराज पठाउने तयारीमा छौं,’ नगर प्रमुख साहले भने,‘अब जिल्लाले नै उपचारका लागि कहाँ पठाउने भन्ने निर्णय गर्ला ।’

salt training

कमेन्ट गर्नुहोस्