राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले नेपाल–भारत सीमामा तारजाली लगाएर रातिको समयमा करेन्ट छाड्न माग गरेका छन् ।
राष्ट्रिय सभाको बुधवार बसेको बैठकमा बोल्दै नेकपा सांसद बिडारीले संकटका बेला छिमेकी (भारत)को जहिले पनि हेपाहा प्रवृत्ति देखिएको भन्दै सीमामा तारजाली लगाउन माग गरेका हुन् ।
भारतले नेपाली भू–भाग लिपुलेक, लिम्पियाधुरालगायत अतिक्रमण गरेको प्रसंगमा बिडारीले भने– 'अहिले नेपाली जनता एकजुट भएको बेला छ, जे जति पैसा नेपाली जनतासँग लिनुपर्ने हो त्यो कुरा घोषणा गरेर यही आर्थिक वर्षदेखि नै सीमामा तारजाली लाएर रातिराति करेन्ट छाड्ने, दिउँसो करेन्ट निकाल्ने गर्नुपर्छ ।'
देशको दक्षिण तथा पूर्व र पश्चिममा तारजाली लगाउन उनको माग छ ।
भारतमा नरेन्द्र मोदीको नेतृत्वमा सरकार आएदेखि नै नेपालीलाई हैरान पारिएको आरोप उनले लगाए ।
'मोदी सरकार जहिले आयो त्यो बेलादेखि नेपाललाई हैरान पर्यापार्यै गर्यो,' बिडारीले भने, 'कहिले संविधान जारी गर्न पाइँदैन भनेर उफ्रिन्छन्, कहिले भूकम्पले थला परेको नेपाललाई नाकाबन्दी गरेर तहसनहस पार्न खोज्छन्, कहिले कोरोनाग्रस्त भएको बेलामा सीमामा मनलाग्दी गर्छन् ।'
अर्को फरक प्रसंगमा सांसद बिडारीले कोरोना फैलाउन नेता, मन्त्री तथा सांसदले नै भूमिका खेलेको आरोप पनि लगाए ।
'अब राहतका कुरा, हरिबिजोग ! राहत बाँड्न भनेर, नेता हुँ भनेर, ट्याक्क सूटटाइ लाएर, गाउँमा गएर मान्छे जम्मा पारेर कोरोना संक्रमित गराउने काम सांसदले गरे, नेताले गरे मन्त्रीले गरे,' उनले भने, 'अहिलेको राहत लोकल सरकारले बाँड्ने हो, अरूले होइन । लोकल सरकारको पनि वडाध्यक्षले बाँड्ने, वडा सदस्यले बाँड्ने, अरूले होइन ।'