
'मेरो आमा मेरो अन्तिम संस्कारको तयारी गर्दै हुनुहुन्थ्यो।' यी शब्दहरू ती व्यक्तिका हुन् जो आज पनि जीवित छन् र जसले हालै फुटबल इतिहासमा एउटा ठुलो पाना थपेका छन् । उनको नाम हो— स्टल सोल्बाकेन ।
५८ वर्षीय सोल्बाकेन यतिबेला नर्वेको राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक हुन्। उनको टोलीले अमेरिकामा जारी फिफा विश्वकप २०२६ मा सबैभन्दा ठुलो उलटफेर गर्दै पाँच पटकको विश्व विजेता ब्राजिललाई पराजित गरी प्रतियोगिताबाट बाहिर पठाएको छ ।
खेल सकिएपछि सोल्बाकेन मैदानमै आफ्नो परिवारसँग अंकमाल गर्दै रोए। यो खुसी र अंकमाल पछाडिको कथा निकै भावुक र असाधारण छ। आजभन्दा झण्डै २५ वर्षअघि, १३ मार्च २००१ मा उनको मुटुले सात मिनेटसम्म धड्किन छोडेको थियो ।
उनी २६ घण्टासम्म कोमामा समेत रहेका थिए ।
इटालीको प्रख्यात अखबार ला ग्याजेट्टा डेलो स्पोर्टसँग कुरा गर्दै उनले विगत सम्झिए, 'जब मेरी आमा मलाई भेट्न आउँदै हुनुहुन्थ्यो, उहाँलाई मेरो वास्तविक अवस्था थाहा थिएन। बाटोभरि उहाँले मेरो मृत्यु भइसकेको ठानेर अन्तिम संस्कार कसरी गर्ने होला भनेर मात्र सोचिरहनुभएको थियो।'
तर, सोल्बाकेनले मृत्युलाई जितेर फर्किए र, वर्षौँपछि नर्वेको इतिहासकै सबैभन्दा प्रतिभाशाली फुटबल पुस्ताको नेतृत्व गर्दै विश्वकपको मञ्चमा तहल्का मच्चाए।

अहिले सोल्बाकेनको कप्तानीमा रहेको नर्वेली टोलीमा मार्टिन ओडेगार्ड (आर्सनल), अलेक्ज्याण्डर सोर्लोथ (एट्लेटिको म्याड्रिड) र विश्व फुटबलकै उदीयमान महातारा इर्लिंग हालान्ड (म्यानचेस्टर सिटी) जस्ता खेलाडीहरू छन्।
ब्राजिलविरुद्धको ऐतिहासिक खेलमा हालान्डले दुई गोल गरे। जारी विश्वकपमा उनको कुल गोल सङ्ख्या सात पुगिसकेको छ, जुन लियोनेल मेसी र किलियन एम्बाप्पेको बराबरी हो।
ब्राजिलमाथिको सानदार जितपछि भावुक हुँदै सोल्बाकेनले भने, 'यो नर्वेको फुटबल इतिहासकै सबैभन्दा ठुलो र गौरवशाली दिन हो।'
तर, उनको यो असाधारण कथाको शुरूआत पनि सन् १९९० को दशकमा ब्राजिलविरुद्धकै अर्को एउटा अविस्मरणीय जितसँग जोडिएको छ।
सन् १९९० को दशकमा स्टल सोल्बाकेन नर्वेका एक प्रमुख मिडफिल्डर थिए। त्यतिबेला तोरे आन्द्रे फ्लो र ओले गुनार सोल्स्यारजस्ता खेलाडीहरूसँगै नर्वेले लगातार दुई पटक (१९९४ र १९९८) विश्वकपका लागि क्वालिफाई गरेको थियो।
१९९८ को विश्वकपमा सोल्बाकेन सोही टोलीको हिस्सा थिए, जसले समूह चरणको अन्तिम खेलमा तत्कालीन विश्व च्याम्पियन ब्राजिललाई २-१ ले हराएर सनसनी मच्चाएको थियो। त्यस जितको मद्दतले नर्वे पहिलो पटक विश्वकपको प्रि-क्वार्टरफाइनलमा पुगेको थियो, जहाँ उनीहरू इटालीसँग पराजित भए। त्यतिबेलासम्म नर्वेको फुटबल इतिहासमा त्यसैलाई सबैभन्दा ठुलो उपलब्धि मानिन्थ्यो।
सन् २००० मा, ३३ वर्षको उमेरमा सोल्बाकेन डेनमार्कको क्लब 'एफसी कोपेनहेगन' मा आबद्ध भए।

त्यसको अर्को वर्ष अर्थात् १३ मार्च २००१ मा ट्रेनिङ सेसनका क्रममा उनलाई अचानक हृदयघात भयो र उनी मैदानमै ढले। टोलीका डाक्टर फ्र्याङ्क ओडगार्डले तुरुन्तै प्राथमिक उपचार शुरू गरे र एम्बुलेन्स बोलाए।
तर, अस्पताल लैजाने क्रममा सात मिनेटसम्म उनको मुटुको धड्कन पूर्ण रूपमा बन्द भयो। उनलाई 'मेडिकली' मृत घोषित गरिसकिएको थियो। अस्पताल पुगेपछि डाक्टरहरूले अथक प्रयास गरेर उनको मुटुलाई पुनः जीवित गराए। त्यसपछि उनी २६ घण्टासम्म कोमामा रहे।
पछि एक पोडकास्टमा सोल्बाकेनले त्यो क्षण सम्झँदै भनेका थिए, 'मैले एउटा नीलो प्रकाश र एउटा सुरुङ देखेको थिएँ। त्यतिबेला मलाई लागिरहेको थियो कि म केही बेर अझै त्यहीँ बसूँ।'
त्यतिबेला उनकी आमा नर्वेबाट कोपेनहेगन आउँदै थिइन् । बाटोभरि उनको मनमा एउटै कुरा खेलिरहेको थियो— यदि छोरो बचेन भने अन्तिम संस्कार कसरी गर्ने? र यदि बच्यो तर दिमागमा क्षति पुग्यो भने उसको अगाडिको जीवन कस्तो होला?
अस्पतालको विस्तृत जाँचपछि सोल्बाकेनमा जन्मजात नै मुटुको समस्या रहेको पत्ता लाग्यो। डाक्टरहरूले उनलाई व्यावसायिक फुटबलबाट सन्यास लिन कडा चेतावनी दिए। उनको शरीरमा 'पेसमेकर' जडान गरियो र यसरी ३३ वर्षकै उमेरमा एक कुशल खेलाडीको खेल जीवन सदाका लागि समाप्त भयो।
खेलाडीबाट एक सफल प्रशिक्षकको यात्रा
खेल्न छोडे पनि सोल्बाकेनले फुटबललाई छोडेनन्। उनले प्रशिक्षकको रूपमा आफ्नो नयाँ यात्रा शुरू गरे। विगत २६ वर्षमा उनले डेनमार्क, इङ्ल्यान्ड र जर्मनीका विभिन्न क्लबहरूमा कोचिङ गरे, जहाँ एफसी कोपेनहेगनसँग उनले ठुलो सफलता हात पारे।
डिसेम्बर २०२० मा उनलाई नर्वेको राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त गरियो। ठिक त्यति नै बेला इर्लिंग हालान्ड र मार्टिन ओडेगार्डजस्ता युवा स्टारहरू नर्वेली फुटबलमा उदायका थिए।

शुरूआती दिन सहज थिएनन्। सोल्बाकेनको प्रशिक्षणमा नर्वे २०२२ को विश्वकप र २०२४ को युरोकपका लागि क्वालिफाई गर्न असफल भयो। तर, नर्वे फुटबल संघले उनीमाथि निरन्तर भरोसा कायम राख्यो।
त्यो भरोसा २०२६ को विश्वकप छनोटमा सही साबित भयो। इटालीजस्तो बलियो टोली रहेको समूहमा नर्वेले आफ्ना सबै आठ खेल जित्दै सिधै विश्वकपको टिकट काट्यो।
विश्वकपको मुख्य प्रतियोगितामा पनि नर्वेले आफ्नो जादुमयी प्रदर्शन जारी राख्यो। समूह चरणमा फ्रान्सपछि दोस्रो स्थानमा रहँदै नकआउट पुगेको नर्वेले पहिलो खेलमा आइभोरी कोस्ट र त्यसपछि क्वाटरफाइनलमा शक्तिशाली ब्राजिललाई पाखा लगाउँदै इतिहासमै पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा ठाउँ पक्का गर्यो।
नर्वे फुटबल संघले सार्वजनिक गरेको एउटा भिडियोमा भावुक हुँदै सोल्बाकेनले भनेका छन्, 'यी खेलाडीहरूले नर्वेको फुटबलको इतिहास मात्र बदलेका छैनन्, बरु सिङ्गो देशको इतिहास बदलिदिएका छन्। आज हामीले जुन खुसी महसुस गरिरहेका छौँ, यो खुसी यतिबेला सिङ्गो नर्वेले मनाइरहेको छ। तपाईंहरू सबैलाई धेरै-धेरै धन्यवाद।'
मृत्युको मुखबाट फर्किएर इतिहास रच्ने सोल्बाकेनले कुनै समय भनेका थिए, 'जब म त्यो दिन मरेर पनि बाँचेर फर्किएँ, अब म जीवनको जुनसुकै चुनौतीको पनि सामना गर्न सक्छु।' आज उनको यो भनाइ उनको जीवन र नर्वेको यो ऐतिहासिक फुटबल यात्रा दुवैमा अक्षरसः सत्य साबित भएको छ। बीबीसी