
दार्चुलाको छाङ्ग्रुमा सशस्त्र प्रहरी निरीक्षक लिलिबहादुर चन्दको नेतृत्वमा २५ जना सशस्त्र प्रहरीको टोली बस्ने भएको छ, त्यसमध्ये १० जना बुधवार त्यहाँ पुगेका छन् ।
सशस्त्र प्रहरी बलको सुरक्षा पोष्ट राख्न गृह मन्त्रालयको टोलीसहित सशस्त्र प्रहरी बलको टोली दार्चुलाको व्यास नगरपालिका– १ छाङ्ग्रु पुगेको हो ।

बुधवार बिहान गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार प्रा.डा. इन्द्रजित राई र एआईजी नारायणबाबु थापासहितको टोली दार्चुला प्रस्थान गरेको थियो ।
खलंगाबाट २५ जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरी लिएर सो टोली छाङ्ग्रु जाने बताइएको थियो ।
छाङ्ग्रुमा बीओपी स्थापनाका लागि आवश्यक बस्दोबस्तीका सामान हेलिकप्टरमा गृहमन्त्रालयले पठाएको छ ।

कालापानी तथा लिपुलेकलगायतका क्षेत्रमा अतिक्रमण बढिरहेका बेला त्यसको १७ किलोमिटर वर छाङ्ग्रुमा सशस्त्र प्रहरीको बीओपी राख्न लागिएको हो ।
व्यास गाउँपालिका अध्यक्ष दिलिप बुढाथोकीले केही समयअघि लोकान्तरलाई दिएको जानकारीअनुसारकालापानीभन्दा छाङ्ग्रु १७ किलोमिटर वर पर्छ ।