
बुधवार र बिहीवार गरी पूर्वी र पश्चिम नवलपरासीमा कोरोनाका २ जना बिरामी फेला परेका छन् ।
दुवै जिल्लामा पहिलो पटक संक्रमित भेटिएको पुष्टि भएको हो । दुवै जिल्लामा बिरामी भेटिएपछि कोरोनाको त्रास बढेको छ ।
कोरोना पुष्टि हुनेमा पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका–५ बड्की बैदौलीका ३६ वर्षीय पुरुष र पूर्वी नवलपरासी देवचुली नगरपालिका–१२ का ४९ वर्षीय अर्का पुरुष छन् । उनीहरू दुवै ४ दिनअघि भारतबाट आएका थिए ।
पश्चिम नवलपरासीमा फेला परेका संक्रमित झोलनीपुर नाकाबाट रातको समयमा लुकेर आएका थिए । दिल्लीबाट आएका उनलाई भोलिपल्ट गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा लगेर राखिएको थियो ।
क्वारेन्टाइनमा रहेका ३० जनाको स्वाब परीक्षण गरिएकोमा उनको रिपोर्ट पोजेटिभ आएको हो । पूर्वी नवलपरासीका पुरुष भने वीरगञ्ज नाका हुँदै आएका थिए । सामान्य लक्षणसहित आएका उनी घर नआई सोझै भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा पुगेका थिए । त्यहाँ उनलाई कोराना भएको पुष्टि गरिएको हो ।
यसैबीच पश्चिम नवलपरासीमा फेला परेका संक्रमितलाई राख्न परासी सदरमुकामस्थित पृथ्वीचन्द्र अस्पताल नै खाली गराइएको छ । अस्पतालमा भर्ना भएका बिरामीहरू संक्रमित हुनसक्ने भएकाले सबैलाई घर पठाएर उनलाई अस्पतालमा राखिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मोहम्मद नुरुल होदाले बताए ।
संक्रमित राख्न थालेपछि जिल्ला अस्पतालले यसअघि सञ्चालन गर्दै आएको ओपडी सेवासहित सामान्य सेवाहरू बन्द गरेको छ । बिहीवारदेखि इमर्जेन्सी, ज्वरो क्लिनिक र प्रसूति सेवाबाहेक सबै सेवा बन्द गरिएको होदाले बताए । भारतबाट जिल्ला भित्रिने नेपालीको संख्या बढ्दै गएकाले अस्पताललाई नै आइसोलेसन केन्द्र बनाउने तयारी गरिएको छ ।
अस्पतालमा १० शय्याको आइसोलेसन कक्ष बनाइएको छ । बुटवल र भैरहवामा रहेका कोरोना उपचार केन्द्रमा ठाउँ अभाव रहेकाले जिल्ला अस्पताललाई नै आइसोलेसन केन्द्र बनाउनेबारे छलफल भइरहेको डा. होदाले बताए ।