
नेपालमा काेराेना भाइरस संक्रमण झनझन बढिरहेकाे छ। सरकारले ११ चैतदेखि लकडाउन लागू गरेकाे छ तर संक्रमणकाे जाेखिम अझै टरेकाे छैन। बिहीबारसम्म संक्रमितकाे संख्या २ सय ४९ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।
के कमीकमजाेरी भइरहेकाे छ र किन संक्रमण बढिरहेकाे छ? यसबारे जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डेकाे विचार
१. जनस्वास्थ्य प्रयोगशालामा बिहीबार कोरोना जाँच गराउने झन्डै हजार जनाको भीड थियो। त्यहाँ सामाजिक दुरीको नियम पालना थिएन | अधिकांश व्यक्तिहरुले घांटीमा मास्क लगाएर पंक्तिमा गफ गरिरहेका थिए। त्यो भीडबाट कोरोना संक्रमण सर्ने ठूलो सम्भावना देखियो । इन्टरनेटबाट वा प्रयोगशालाको गेटमा टाइम कार्ड वा टाइम नम्बर दिने हो भने यो भीड नियन्त्रण हुन्छ।
२. सरकारी अस्पतालहरु, केहि निजी अस्पताल तथा अन्य स्वास्थ्य संस्थामा ठूलो भीड देखिएको छ। बिरामी जाँच गर्ने कोठा साना छन्। त्यहाँ हावा आवतजावत गर्ने व्यवस्था छैन | सामाजिक दुरी कायम गर्ने मार्किंग गरिएको छैन। सबैलाई हतार भएको देखिन्छ। यसले गर्दा कोरोना संक्रमण सर्ने जोखिम देखिन्छ।
अहिले वर्षातको मौसम छैन। अस्पतालको चौरमा टेन्ट राखेर बिरामी जाँच्ने व्यवस्था गर्ने हो भने हावा, प्रकाश आदिको स्वत: उपलब्धता हुने भएकोले कोरोना भाइरस बन्द कोठामा जस्तो धेरै समय रहदैन। चौरमा सामाजिक दुरी कायम गर्न सजिलो हुन्छ । यस्तो बेला छत, बरण्डा वा अन्य खुला स्थान पनि प्रयोग गर्न सकिन्छ।
३. संक्रमित क्षेत्रबाट आएका बिरामीलाई पहिले टेकुमा पीसीआर टेस्ट गरेर रिपोर्ट ल्याउने अनि अपरेसन गर्ने नियम बनाएको भए आज शिक्षण अस्पतालजस्तो जनसेवी अस्पतालको न्युरो युनिट शिल गर्नुपर्ने थिएन। दर्जनौं स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बस्नुपर्ने थिएन। यस्ता घटना ८- १० वटा ठूला अस्पतालमा हुने हो भने आम नागरिक स्वास्थ्य सेवाबाट बंचित हुने अवस्था आउँछ । यसतर्फ सम्बन्धित सबैको ध्यानाकर्षण हुनु जरुरी छ।
४. ज्वरो क्लिनिक / फ्लू क्लिनिकको छुट्टै व्यवस्था गरेजस्तै डेडिकेटेड दीर्घरोग अस्पतालको रुपमा केहि अस्पताललाई बिकास गर्नु जरुरी छ। जोखिम बर्गमा रहेका व्यक्तिहरुले निर्धक्क स्वास्थ्य सेवा लिने वातावरण राज्यले प्रबन्ध गर्नुपर्दछ।