
काठमाडौं उपत्यकामा पनि कोभिड–१९ को संक्रमणको जोखिम हुन नदिन काठमाडौं महानगरपालिकाले कोरोना परीक्षणलाई निरन्तरता दिएको छ ।
बिहीबार कालिमाटी तरकारी बजार विकास समितिमा कार्यरत कर्मचारी, थोकविक्रेता, मजदुर तथा चालक गरी एक हजार ३४ को परीक्षण गरिएको थियो ।
ती मध्ये ७०० जनाको आरडीटी र्यापिड डाइग्नोष्टिक टेष्ट० र ३३४ जनाको पीसीआर (पोलिमेयर चेन रियाक्सन) परीक्षण गरिएको हो ।
आरडीटी गरिएकामध्ये चार जनाको नतिजा पोजेटिभ देखिएको र पीसीआरको नतिजा आउन बाँकी रहेको महानगर, जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रविलास बज्राचार्यले जानकारी दिए ।
सफाइ क्षेत्रमा काम गर्ने कर्मचारीको आज परीक्षण गरिरहेको कामपाले जनाएको छ । सफाइ कर्मचारी र फोहरमैला सङ्कलन गर्नेहरुमा आरडीटी / पीसीआर दुवै विधिबाट परीक्षण गर्न लागिएको हो ।
कामपाका ९५० कर्मचारी सफाइ क्षेत्रमा कार्यरत छन् । अहिले उनीहरूको टेकुमा आरडीटी र पीसीआरका लागि स्वाब सङ्कलन भइरहेको छ ।
संक्रमणको पहिचान गरी थप सुरक्षित बन्नका लागि क्रमशः जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र सञ्चारकर्मीको परीक्षण गर्ने तयारी भएको कामपा प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।