राष्ट्रपति विद्यादेवी भण्डारीले मानिसको जीवन रक्षा सरकारको सर्वोच्च कर्तव्य भएको बताएकी छन् ।
संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठकमा शुक्रवार सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले विश्व समुदाय अदृष्य दुस्मनकाविरुद्ध लडिरहेको बताएकी हुन् ।
‘कोभिड– १९ का कारण परेको आर्थिक क्षतिको पूर्ति होला, तर गुमेको मानव जीवनको क्षतिपूर्ति हुन सक्दैन । यो बेला मानिसको जीवनरक्षा सरकारको सर्वोच्च कर्तव्य हुन आउँछ,’ उनले भनिन् ।
उनले कोभिड १९ बाट जनताको जिउधनको रक्षा गर्न सरकार सफल भएको दाबी पनि गरिन् ।
'कोभिड– १९ को संक्रमण प्रारम्भ भएलगत्तै नेपाल सरकारले अवलम्बन गरेको स्पष्ट रणनीति, समन्वयात्मक कार्यशैली एवं सबै नेपालीको एकता, धैर्य र सहयोगले अहिलेसम्म यस रोगको संक्रमणबाट नेपालभित्र सबैको जीवन रक्षा गर्न हामी सफल भएका छौं । कोडिभ– १९ संक्रमण रोकथामक र नियन्त्रणका लागि नेपाल सरकारले चालेको कदममा सहयोग गर्नुभएकोमा सम्पूर्ण दिदीबहिनी दाजुभाइप्रति आभार व्यक्त गर्दछु,' राष्ट्रपति भण्डारीले भनिन् ।