
सरकारले आगामी २०८७ अगावै दिगो विकासका लक्ष्य हासिल गर्दै मध्यम आय भएका मुलुकमा स्तरोन्नति गर्न दृढ रहेको जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शुक्रवार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारका वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।
'२०८७ अगावै दीगो विकासका लक्ष्यहरू हासिल गर्दै मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्ने लक्ष्यमा सरकार दृढ छ,' राष्ट्रपति भण्डारीले भनिन् ।
सरकारको यही कार्यकालभित्र विकासशील राष्ट्रको पंक्तिमा र विक्रम संवत् २०९९ सालसम्ममा नेपालीलाई समुन्नत राष्ट्रको स्तरमा पुर्याउने गरी आर्थिक र सामाजिक विकासका योजना र कार्यक्रमहरू अघि बढाइएको उनले बताइन् ।
उनले थपिन्, 'समाजमा कोही पनि पछि नपरून् भन्नेमा यो सरकार संवेदनशील छ । २ वर्षको अवधिमा शहरहरू सडक बालबालिका र सडक मानवमुक्त भएका छन्, मगन्ते रहित भएका छन् । शौचालयको उपलब्धता र प्रयोगमा सुधार ल्याई नेपालीलाई सभ्यताको एकस्तर माथि उठाउने कार्यमा लक्षिण एसियामा नेपाललाई पहिलो हुने सफलता मिलेको छ ।'