
सुदूरपश्चिम प्रदेशको तराईका कैलाली र कञ्चनपुरको सीमापारि भारतीय क्वारेन्टाइनमा रहेका नेपालीलाई र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) जाँचको भरमा नेपाल आउन दिने भएको छ ।
कोरोना भाइरस संक्रमण फैलिएपछि भारतबाट घरतिर फर्किएका नेपाली सीमानाकामा रोकिएका छन् । सिमावर्ती क्षेत्रका भारतीय क्वारेन्टाइनमा रहेका सुदूरपश्चिमका नागरिकलाई स्वदेश भित्र्याउने तयारी भइरहेको छ ।
‘सीमापारि रहेका नेपाली दाजुभाई दिदीबहिनीलाई स्वास्थ्य परीक्षण गरेर नेपाल भित्र्याउने तयारी भइराखेको छ,’ सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले भने, ‘यदि कसैलाई कोरोना भाइरस पोजेटिभ देखिएको खण्डमा अस्पताल पुर्याउँछौं । नदेखिएकालाई स्थानीय तहको समन्वयनमा क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्दै छौं ।’
सीमापारि भारतमा कञ्चनरपुरको गड्डाचौकी नाका नजिकै ३०० जना र कैलालीको गौरीफन्टा सीमा नजिकै ५५० जना नेपाली क्वारेन्टाइनमा छन् । स्थानीय तहको क्वारेन्टाइनमा राख्ने गरी समन्वय भइरहेको छ । नेपाल भित्रिने सबैको आरडीटी चेक (स्वास्थ्य चेकजाँच) गर्दा पोजेटिभ देखिएकालाई अस्पताल लैजाने र नेगेटिभ देखिएकालाई स्थानीय पालिकाको जिम्मा लगाएर क्वारेन्टाइनमा राखिने डीआईजी सुवेदीले बताए ।
हरेक पालिकाका क्वारेन्टाइनमा राखेर स्वाब परीक्षण गर्ने र अन्य कोरोना सम्बन्धी स्वास्थ्य परीक्षण गरेर मात्रै घर जान दिने व्यवस्था मिलाउन लागिएको छ ।
कृषकलाई खेती गर्न छुट
सुदूरपश्चिम प्रदेशमा लकडानको अवस्थामा पनि सर्वसाधारण कृषकलाई आफ्नो खेतीपाती गर्न स्थानीय प्रशासनले रोकेको छैन । ‘खेतीपाती गर्ने कृषकलाई हामीले रोकेका छैनौं । उहाँहरूले आफ्नो कृषि काम निर्वाधरुपमा गर्न सक्नुहुन्छ,’ डीआईजी सुवेदीले भने ।
भारतबाट आउने खाद्यान्न तरकारी लगायतका सामानहरू पनि आइराखेका छन् भने बर्खा लाग्नुअघि सुदूरपश्चिमका पहाडी तथा हिमाली जिल्लामा आवश्यक पर्ने खाद्यान्न पनि ढुवानी भइरहेको छ ।
‘अब बर्खा लाग्न थालेको अवस्थामा सुदूरपश्चिमका पडाडी तथा हिमाली जिल्लामा आवश्यक पर्ने खाद्यान्न ओसारपसार पनि रोकिएको छैन, निर्वाधरुपमा खाद्यान्न सप्लाई भइराखेको छ,’ प्रमुख डीआईजी सुवेदीले लोकान्तरसँग भने ।
सर्वसाधारणलाई आवश्यक पर्ने खाद्यान्न, औषधि लगायतका दैनिक उपभोग्य वस्तु बिहान–साँझ किनमेल गर्न दिइएको छ । ‘सुदूरपश्चिममा अबको चुनौती भारतबाट आउने नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा हो । त्यहाँबाट आउने मानिसहरूमा कोरोना भाइरस देखिन पनि सक्छ । यस्तो अवस्थामा उनीहरूलाई व्यवस्थापन कसरी गर्ने भन्ने कुरा चुनौती देखिनेछ,’ डीआईजी सुवेदीले भने, ‘स्थानीय सरकार, प्रदेश सरकार, जिल्ला सुरक्षा समिति लगायत सबै समन्वयमा हामीले काम गरेका छौं । सबैको सल्लाह अनुसार नै व्यवस्थापन हुन्छ ।’
ठूला कलकारखाना नभएको सुदूरपश्चिममा साना उद्योगहरू चलाउन पनि रोक लगाइएको छैन । कतिपय कलकारखाना भने स्वस्फूर्तरुपमा बन्द छन् ।
तराईका कैलाली र कञ्चनपुर तथा पहाडी जिल्ला बैतडी, दार्चुला र डडेल्धुराको केही भाग भारतीय सीमासँग जोडिएका छन् । भारतमा रोजगारीमा गएका नेपाली लुकीछिपी नेपाल प्रवेश गर्ने जोखिम छ ।
लुकीछिपी आउने कार्य रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरीका थप जनशक्ति परिचान गरिएका छन् । सीमाबाट अनाधिकृतरुपमा लुकेर छिर्ने व्यक्तिको सूचनाको लागि वडाध्यक्षको संयोजकत्वमा सूचना समिति निर्माण भएका छन् ।
लुकीछिपी नाकाबाट छिर्ने व्यक्तिको सूचना वडाध्यक्षले प्रहरीलाई दिन्छन्, त्यसपछि प्रहरीले त्यस्ता व्यक्तिलाई क्वारेन्टाइनमा राख्न मद्दत गर्ने गरेको प्रदेश प्रहरीले जनाएको छ । पछिल्लो समयमा सुदूरपश्चिममा १ जना पनि कोरोना पोजेटिभ देखिएका छैनन् । सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा कोरोना पोजेटिभ देखिएका ५ जना निको भएर घर फर्किसकेका छन् ।
प्रदेशभर लगभग २ हजार ४०० जना क्यारेन्टाइनमा छन् । क्वारेन्टाइनमा रहेका सबै जना भारतबाट आएकाहरू रहेका छन् ।