
नेपालमा कोरोना भाइरस सक्रमणबाट पहिलो मृत्यु घटना भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सिन्धुपाल्चोककी सुत्केरीको मृत्यु भएकोमा उनमा कोरोना संक्रमण रहेको पाइएको हो।
तर कोरोना भाइरस मृतकबाट पनि सर्ने भएकाले शव व्यवस्थापन जटिल छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको शव व्यवस्थापनसम्बन्धी कार्यविधिमा कोरोना भाइरसबाट ज्यान गुमाए उक्त व्यक्तिको परिवार तथा आफन्तले मृतकको शव छुन नपाउने व्यवस्था गरिएको छ। यद्यपि, परिवारका सदस्यले १ मिटर परबाट नछोइकन अन्त्येष्टि गर्न भने पाउनेछन्।
कार्यविधिमा ६० वर्षभन्दा माथि र दीर्घरोगका बिरामीलाई शवको नजिक जानसमेत रोक लगाएको छ।
संक्रमणबाट मृत्यु भएकाको शव अन्तिम संस्कार गर्न लैजाने क्रममा अस्पतालका कर्मचारी, एम्बुलेन्सका कर्मचारी, सदगत गर्ने व्यक्ति र सहभागी मृतकका आफन्तले पन्जा, चस्मा, टोपी, मास्कसहित पिपिई अनिवार्य प्रयोग गर्नुपर्ने प्रावधान राखिएको छ।