२८ जेठ २०८३, बिहीबार

सिमाना (कविता)

जेठ ४, २०७७
सिमाना (कविता)

केशव सिग्देल

ध्यानस्थ भएर अविरल बगिरहेको नदीलाई 
अभियुक्तजस्तो कँठालो समातेर 
समयको कठघरामा उभ्याइदियो भने
आफ्नै उद्गमको प्रमाण जुटाउन
के गर्छ होला नदी ? 

नदीलाई राम्रै थाहा छ
फर्कि गए पनि आफ्नो शिरसम्म
हिमालमा जोडिएको छ उसको नाभि 
हिमालका चट्टानहरुलाई पनि थाहा छ
आकाशबाटै हो सहस्र झर्ने हिउँ र पानी 
आकाशलाई पनि थाहा छ 
महासागरमा समाधिस्थ छ
बादल उत्पन्न गर्ने तेजमय वाष्प र ध्वनी । 

आफ्नो उद्गम खोज्दाखोज्दै 
नदी जब पुग्छ–– 
हिमालसम्म,
आकाशसम्म,
सागरसम्म,
साँध भत्काइरहेका मानिसहरु 
के नापिसक्लान् हिउँको आयतन ?
के तोक्न सक्लान् आकाशको सिमाना ?
अथवा, समुन्द्रको ज्वारभाटामा 
के भेट्टाउलान् सन्धीसर्पनको न्याय ?

नदीलाई 
सम्झाइरहनु पर्दैन उसको धर्म
बगिरहन्छ नित्य 
अनन्तसम्म । 
तर जुन दिन
आफ्नै उद्गमको प्रमाण खोज्न
आफ्नै शिरतिर बग्न विवश हुनेछ नदी 
त्यसपछि 
सहस्र धमनी बनेर दौडाउनेछ 
हाम्रो शरीरको रगत
र ति सबै धमनीहरु छिनालिएपछि मात्र
कोरिनेछ भूगोलको नयाँ सिमाना ।

salt training

कमेन्ट गर्नुहोस्