०२ असार २०८३, मंगलबार

९०० वर्षअघि एक रातका लागि गायब भएको थियो चन्द्रमा, कारण खुल्यो अहिले

जेठ ४, २०७७
९०० वर्षअघि एक रातका लागि गायब भएको थियो चन्द्रमा, कारण खुल्यो अहिले

सन् १११० मा मध्यकालीन बेलायतका एक लेखकले त्यो वर्ष विनाशकारी भएको लेखेका थिए । त्यस वर्ष भयंकर पानी परेपछि अन्नबाली नष्ट भएका थिए अनि भोकमरीको स्थिति आएको थियो । त्यतिले नपुगेर मे महिनाको एक रात चन्द्रमा नै आकाशबाट गायब भएको थियो । 

‘मे महिनाको पाँचौं रात चन्द्रमा आकाशमा उज्यालो देखिएको थियो अनि बिस्तारै बिस्तारै त्यसको प्रकाश हराउँदै गयो,’ नाम नखुलेका लेखकले पिटरबोरो क्रोनिकलमा लेखे । ‘रात चन्द्रमा पूरै गायब भइदिँदा सर्वत्र अन्धकार भयो । भोलिपल्ट बिहानसम्म चन्द्रमा देखिएन । त्यसपछिको राति चाहिँ फेरि पूर्णचन्द्र उज्यालो देखियो ।’

त्यतिखेर बादल लागेर चन्द्रमा छेकिएको थिएन किनकि ती लेखकले चन्द्रमाको अभावमा ताराहरू चम्किएको वर्णन गरेका छन् । अनि ग्रहण लागेर चन्द्रमा हराएको पनि हैन ।

के कारणले चन्द्रमा गायब भएको हो त ? यसै वर्षको अप्रिल २१ मा साइन्टिफिक रिपोर्ट्स नामक जर्नलमा प्रकाशित एक अध्ययनअनुसार, ज्वालामुखीका कारण यसो भएको हो । 

‘चन्द्रमा हराउने यो अद्भुत गतिविधिका पछाडि ज्वालामुखी नै कारण हो,’ अध्येताहरूले लेखे । ‘हिउँको केन्द्र (आइस कोर) हरूको सूक्ष्म निरीक्षण गर्दा युरोप वा एसियामा सन् ११०८ र १११० को बीचमा ज्वालामुखी विस्फोट भएको देखिन्छ ।’ 

ज्वालामुखीका यी घटनाहरूलाई तत्कालीन इतिहासकारहरूले लिपिबद्ध नगरेकाले यिनलाई पछिल्लो पुस्ताले बिर्सियो । ज्वालामुखीका कारण खरानीको मुश्लो उडेर चन्द्रमालाई छेकेको हुन सक्ने र खरानी कैयौं वर्षसम्म संसारभरि उडिरहेको हुन सक्ने अध्येताहरूको भनाइ छ । 

ज्वालामुखीय एरोसोलहरूले चन्द्रमालाई छेकेको मात्र नभई वैश्विक जलवायुमा पनि अवरोध पुर्‍याएको हुनसक्ने अनुसन्धाताले लेखेका छन् । यसले गर्दा चिसो बढेको अनि बेस्सरी पानी परेको हुनसक्ने र सन् १११० मा जीवन कष्टकर भएको हुन सक्ने उनीहरूको भनाइ छ । 

लाइभ साइन्स डट्कमबाट
 

salt training

कमेन्ट गर्नुहोस्