
म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका वडा २, रिठेबोटमा एम्बुलेन्स दुर्घटना भएको छ ।
मुस्ताङको थासाङ गाउँपालिकाबाट बिरामी लिन आउँदै गरेको ग१झ ३११ नम्बर एम्बुलेन्स आइतबार दिउँसो २ बजे सो स्थानमा दुर्घटनाग्रस्त भएको म्याग्दीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किरणजंग कुँवरले जानकारी दिए ।
उनका अनुसार एम्बुलेन्स चालक मुस्ताङ थासाङ गाउँपालिका–४ का २५ वर्षीय सुजन विक भने बेपत्ता छन् । बिक ४ महिनादेखि लेते प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्स चालकको काम गर्दै आएका थिए ।
डीएसपी कुँवरका अनुसार एम्बुलेन्सको केही अवशेषमात्र कालीगण्डकी नदीको तिरमा भेटिएको छ । एम्बुलेन्स बेनी–जोमसोम सडकखण्डको रिठाबोटबाट करिब ८० मिटर तल कालिगण्डकी नदीमा खसेको जनाइएको छ ।
थासाङ गाउँपालिका निवासी प्रसूति बिरामी बेनी अस्पतालमा डेलिभरी भएकोमा घरतर्फ ल्याउने उद्देश्यले बेनीतर्फ आउँदै गर्दा एम्बुलेन्स दुर्घटना भएको जनाइएको छ ।
दुर्घटनास्थलमा अहिले सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधि लगायतले खोजीकार्य गरिरहेका छन् ।