१९ असार २०८३, शुक्रबार

नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय मिडियामा रोइलो– ‘चीनको चालमा भारतका इलाकालाई आफ्नो नक्सामा देखायो’

नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय मिडियामा रोइलो– ‘चीनको चालमा भारतका इलाकालाई आफ्नो नक्सामा देखायो’

कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेत समावेश गरेर सोमवार नयाँ नक्सा जारी गर्ने निर्णय लिएको समाचारलाई भारतका सबैजसो सञ्चारमाध्यमले प्राथमिकताका साथ प्रकाशित गरेका छन् । 

अंग्रेजी दैनिक हिन्दुस्तान टाइम्सले प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्ले नयाँ नक्सा जारी गर्ने निर्णय लिएको भनी लेखेको छ । त्यसमा भारतको विदेश मन्त्रालयका अधिकारीको तत्काल प्रतिक्रिया नआएको उसले उल्लेख गरेको छ ।

त्यस्तै बीबीसी हिन्दीले सुरेन्द्र फुयालको बाइलाइनमा नेपालको नयाँ नक्सा जारी सम्बन्धी लामै समाचार प्रकाशन गरेको छ । विभिन्न ऐतिहासिक दस्तावेजले कालापानी वरपरका क्षेत्र नेपालकै सार्वभौम भूभाग हो भनी पुष्टि गरेको समाचारमा उल्लेख गरिएको छ ।

समाचारमा सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई उद्धृत गर्दै लेखिएको छ, महाकाली नदी लिम्पियाधुरा (कालापानीबाट उत्तर पश्चिममा १६ किलोमिटर पर) बाट निस्कन्छ र सुगौली सन्धिमा यस नदीलाई दुई देशको सिमाना निर्धारण गरिएको थियो । त्यसबाट कालापानी नेपालको भूभाग भएको सिद्ध गर्छ ।’

तर भारतले नेपालको दाबी खारेज गरेको समाचारमा उल्लेख गरिएको छ । ‘काठमाडौंस्थित भारतीय दूतावास र भारतको विदेश मन्त्रालयले आफ्नो तर्फबाट परिस्थितिलाई शान्त बनाउन कोशिश गर्दै दुई देशका परराष्ट्रसचिवको स्तरमा यी विषयमा कुराकानी गरिने जनाएको छ,’ समाचारमा उल्लेख गरिएको छ ।

भारतबाटै प्रकाशित हुने डिजिटल म्यागजिन स्क्रोल डट् इनमा नयाँ नक्सा तथा कालापानी विवादको इतिहास र वर्तमानका विषयमा नेपाली लेखकद्वय कनकमणि दीक्षित र टीका ढकालको लामो लेख मंगलवार छापिएको छ । लेखमा विवादको शुरूआत कहाँबाट भयो र नेपालका तर्फबाट विवाद समाधानका लागि कस्ता प्रयास गरिए अनि भविष्यको बाटो के हुनुपर्छ भनी विशद विश्लेषण गरिएको छ । 

त्यस्तै दी इन्डियन एक्सप्रेस दैनिक पत्रिकामा निरूपमा सुब्रमनियमको बाइलाइनमा लिपुलेक सडक, नेपालले त्यसमा जनाएको विरोध र उक्त क्षेत्रको रणनीतिक महत्त्वको विषयमा विश्लेषण गरिएको छ । 
‘उक्त सडक बनाइरहँदा नेपाल किन मौन बसेको र अहिले आएर विरोध गरेको भनी भारतमा केही मानिसले सोध्ने गरेका छन् । तर काठमाडौंले सीमाक्षेत्रको विषय आफूले बारम्बार उठाइरहेको बताउने गरेको छ... सीमा विषय नयाँ भएको भनी नेपालले सही इंगित गरेको हो ।’

न्युजट्य्राक नामक हिन्दी अन्लाइन पोर्टलमा ‘चीनको चालमा फस्यो नेपाल, भारतका यी इलाकालाई आफ्नो नक्सामा देखायो’ शीर्षकमा समाचार छापिएको छ । 

त्यसमा लेखिएको छ, ‘पारस्परिक वार्ताबाट सीमा विवादको समाधान निकालनका लागि दुवै देशले पैरवी गर्दै आएका छन् तर अहिले नेपालको दृष्टिकोणमा आएको परिवर्तनबाट चीनले आफ्नो असर देखाउन थालेको स्पष्ट संकेत पाइएको छ ।’

उता दैनिक जागरण पत्रिकाले यस विषयमा लेखेको छ :

पिथौरागढको गर्बाधारा–लिपुलेक मार्गलाई अतिक्रमण गर्दै विरोध गरिरहेको नेपालले सोमवार नयाँ नक्सा जारी गरेको छ । त्यसमा पिथौरागढको लिपुलेक र कालापानीलाई आफ्नो क्षेत्र भन्दै नेपालले नयाँ अन्तर्राष्ट्रिय सीमारेखा निर्धारण गरेको बताएको छ । नेपालले उत्तराखण्डसँगको ८०५ किलोमिटर लामो सीमाकमा मात्र परिवर्तन गरेको हो । उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल र सिक्किमसँग जोडिएको सीमालाई पूर्ववत राखेको छ ।’
 

salt training

कमेन्ट गर्नुहोस्