३० असार २०८३, मंगलबार

भारतसँग मित्रता गाँस्न खोज्दै तालिबान, कश्मीरलाई भारतको आन्तरिक विषय बतायो

जेठ ६, २०७७
भारतसँग मित्रता गाँस्न खोज्दै तालिबान, कश्मीरलाई भारतको आन्तरिक विषय बतायो

कश्मीरमा आतंकवादीहरूलाई सहयोग गरिरहेको भनेर तालिबानसँग भारतले अहिलेसम्म चिसो सम्बन्ध राख्दै आएकोमा तालिबानले कश्मीर भारतको आन्तरिक मामिला भएको बयान दिएको छ । 

आफू कश्मीरमा भइरहेको आतंकवादी गतिविधिमा संलग्न नरहेको भनी तालिबानले स्पष्टीकरण दिएको छ । अन्य देशको आन्तरिक मामिलामा आफूले हस्तक्षेप नगर्ने उसको भनाइ छ । 

तालिबानको राजनीतिक शाखा इस्लामिक अमीरात अफ अफगानिस्तानका प्रवक्ता सुहैल शाहीनले सोमवार एउटा ट्वीट गरे, ‘तालिबान कश्मीरमा भइरहेको जिहादमा संलग्न रहेको भनी मिडियामा प्रकाशित खबरहरू गलत छन् । अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने इस्लामिक अमीरातको स्पष्ट नीति छ ।’

त्यसअघि मिडिया तथा सामाजिक सञ्जालमा तालिबानका प्रवक्ता जबीउल्लाह मुजैदले कश्मीर विवाद समाधान नहुन्जेल भारतसँगको मित्रता कायम हुन नसक्ने भनेको भनी लेखिएको पाइन्थ्यो । काबुलमा आफूहरूले सत्ता कब्जा गरेपछि कश्मीरलाई पनि लिने भनी प्रवक्ताले भनेको उल्लेख थियो । 

सूत्रहरूका अनुसार, सामाजिक सञ्जालमा आएका खबरको सत्यतथ्य जान्नका लागि भारतले तालिबानसँग सम्पर्क गर्दा यो स्पष्टीकरण जारी गरिएको हो । सामाजिक सञ्जालमा गरिएका दाबी झूटो भएको र तालिबानको वास्तविक अडानलाई त्यसले प्रतिबिम्बित नगर्ने भनी भारतलाई तालिबानले स्पष्ट पारेको देखिएको छ । 

अफगानिस्तानबाट अमेरिकी सैनिकहरू फिर्ता हुने समय नजिकिँदै गर्दा त्यहाँको राजनीतिक समीकरण तीव्र गतिमा बदलिइरहेको छ । अमेरिकाको अनुपस्थितिमा अफगानिस्तानमा प्रभाव जमाउन पाकिस्तान, चीन, इरान र रुसले साझेदारी गरेको देखिन्छ । 

अफगानिस्तानमा भारतको पोजिसन कमजोर देखिन्छ । तालिबान जहिल्यै पाकिस्तानको निकटवर्ती हो । तालिबान अफगानिस्तानको सत्तामा आएमा पाकिस्तानले तिनीहरूलाई भारतविरुद्ध उपयोग गर्नसक्ने डर भारतले लिएको छ ।

अनि अफगानिस्तानमा भारतले गरेको लगानी पनि खेर जान सक्ने जोखिम पनि रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्