२३ असार २०८३, मंगलबार

मन्त्री रावलले निकाले विज्ञप्ती, आरडिटी जाँच गरेर मात्रै पालिकामा पठाइएको दाबी

जेठ ६, २०७७
मन्त्री रावलले निकाले विज्ञप्ती, आरडिटी जाँच गरेर मात्रै पालिकामा पठाइएको दाबी

कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले कर्णाली भित्रिएका हरेक नागरिकको आरडिटी जाँच गरेर मात्रै पालिकामा पठाउने गरेको भन्दै विज्ञप्ती जारी गरेका छन् ।

मंगलबार मन्त्री रावलले निकालेको विज्ञप्तीले सरकारको झुठ सामुन्ने ल्याएको छ । दैलेखको आठबीस नगरपालिकामा देखिएको कोरोना संक्रमित ३५ वर्षिय युवाको आरडिटी जाँच नै नगरी पठाइएको स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रिता भण्डारीले यसअघि नै बताइसकेकि छिन् । तर यसलाई लुकाउन मन्त्री रावलले विज्ञप्ती जारी गरेका हुन् ।

‘स्वदेश तथा विदेशका विभिन्न ठाउँबाट यस प्रदेशमा भित्रिने नागरिकहरुको प्रदेश सीमा नाकामै अनिवार्य रुपमा दर्ता, यात्रा इतिहासको अभिलेखीकरण र आरडिटी जाँच गरी सम्बन्धित स्थानीय तहमा पठाउने, स्थानीय तहले अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने, क्वारेन्टाईन अवधि पुरा भएपछि अनिवार्य पिसिआर विधिद्धारा स्वाव परीक्षण गर्ने र परीक्षण रिपोर्ट प्राप्त भएपश्चात संक्रमण नदेखिएका नागरिकलाई तोकिएको समयसम्म अनिवार्य होम क्वारेन्टाइनमा रहने गरी घर पठाउने व्यवस्था मिलाइएको छ’ विज्ञप्तिमा दाबी गरिएको छ ।

विज्ञप्तीमा कर्णाली प्रदेशमा यसअघि पनि दुवै विधिबाट सन्तोषजनक रुपमा कोरोना परीक्षणको कार्य भइरहेको र स्वदेश तथा विदेशका जोखिमयुक्त क्षेत्रबाट प्रदेश भित्रिने नागरिकको संख्या वृद्धि भएसँगै हरेक स्थानीय तहको वडास्तरसम्म परीक्षणको दायरालाई बढाउने प्रदेश सरकारको निर्णय बमोजिम परीक्षण कार्य तिव्रताका साथ अगाडि बढाइएको उल्लेख गरिएको छ । 

मन्त्री रावलले जेठ पाँच गते कर्णाली प्रदेश अन्तर्गत दैलेखको आठविस नगरपालिका वडा नं. १ निवासी ३५ वर्षीय पुरुषको पिसिआर विधिवाट स्वाव परीक्षण गर्दा (कोभिड–१९)को संक्रमण पुष्टि भएको बताएका छन् । ‘कर्णाली प्रदेशमा संक्रमण हुन नदिने उद्धेश्यका साथ रोकथाम, नियन्त्रणमा उच्च सतर्कता सहित काम गरिरहेको अवस्थामा देखिएको यो घटनाप्रति दुःख प्रकट गर्दछौं । छिमेकी मुलुक भारतवाट आई क्वारेन्टाईनमा राखिएका व्यक्तिमा संक्रमण देखिएको र निज व्यक्ति समुदायमा प्रवेश गरिनसकेको अवस्था रहेका कारण यस घटनाबाट भयभीत एवं त्रसित नहुन तर थप संक्रमण हुन नदिन उच्च सतर्कता र सावधानीका उपाय अवलम्वन गर्न संक्रमित व्यक्ति, निजका परिवारजन तथा समग्र कर्णालीबासीमा हार्दिक अनुरोध छ,’ उनले भनेका छन् । 

मन्त्री रावलले कोरोनाको परिक्षणमा कुनै शंका नगर्न आग्रह गरेका छन् । ‘कर्णाली प्रदेशमा कोरोना (कोभिड–१९) परिक्षणका लागि प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा प्रयोगशाला स्थापना गरि दक्ष जनशक्तिद्वारा विश्वसनीय रुपमा परीक्षण कार्यसमेत भइरहेको छ ।

पुनःपुष्टिका लागि रेफ्रेन्स ल्यावमा पठाउनुपर्ने प्रयोगशालाको प्राविधिक प्रावधान बमोजिम यस प्रदेशमा गरिएको पिसिआर परीक्षणको १० प्रतिशत नेगेटिभ सहित सवै पोजिटिभ स्याम्पलहरु पुनःपुष्टि गर्न नेपालगञ्ज अथवा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइने गरेको र यो नियमित प्रक्रिया भएको हुँदा यस प्रदेशमा स्थापना गरिएका प्रयोगशालाको गुणस्तर तथा विश्वसनीयताका सम्बन्धमा कुनै पनि भ्रममा नरहन अनुरोध गर्दछु ।’


 

salt training

कमेन्ट गर्नुहोस्