०५ साउन २०८३, मंगलबार

एक हप्ताभित्रै सञ्चालनमा आउँदै धनगढीको कोरोना विशेष अस्पताल

जेठ ६, २०७७
एक हप्ताभित्रै सञ्चालनमा आउँदै धनगढीको कोरोना विशेष अस्पताल

भौतिक संरचना निर्माण सम्पन्न भैसकेको धनगढीस्थित कोरोना विशेष अस्पताल १ हप्ताभित्रै सञ्चालनमा ल्याउने तयारी थालिएको छ ।

कोभिड–१९ को उच्च जोखिममा परेयता निर्माण थालिएको सो अस्पताल अबको १ हप्ताभित्रै सञ्चालनको तयारी थालिएको हो ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले केही दिनभित्रै निर्माण पक्षले भवन हस्तान्तरण गरे लगत्तै सञ्चालनमा ल्याइने जानकारी दिए ।

महाशाखा प्रमुख कार्कीले भने–‘भवन हस्तान्तरण संगै बिजुली, खानेपानी, अक्सिजन जडान गर्न बाँकी छ । तर ६२ वटा बेदहरु तयारी अवस्थामा छन् । अबको एकहप्ताभित्रै सञ्चालन गर्ने योजनामा छौ ।’

रोगको संक्रमण बढ्दै गएको बेला सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा कोरोना विशेष अस्पताल निर्माण थालिएको हो । सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा १ महिनामै ५० शैयाको कोरोना विशेष अस्पताल तयार पारिएको हो । जिल्ला समन्वय समिति कैलालीको जग्गामा अस्पताल निर्माण गरिएको छ ।

वैशाख १ गतेदेखि निर्माणको काम सुरु गरिएको अस्पतालको भौतिक संरचना वैशाख ३१ गते नै पूरा भएको जनाइएको छ । निर्माण गरिएको अस्पताल सेती प्रादेशिक अस्पतालको मातहतमा रहने भएको छ । अस्पतालको सञ्चालन नै सेती प्रादेशिक अस्पतालमार्फत हुने महाशाखा प्रमुख कार्कीको भनाइ छ ।

प्रदेश सरकारले धनगढीमा कोरोना विशेष अस्पताल निर्माणका लागि १ करोड रुपियाँ बजेट विनियोजन गरेको थियो । ठेकेदार रोहित रानाको किनारा कन्स्ट्रक्सन प्रालिले ९४ लाख रुपियाँमा ठेक्का प्राप्त गरेर अस्पताल निर्माणको काम गरेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

‘प्रदेश सरकारले यो अस्पताल निर्माणका लागि एक करोड रुपियाँ बजेट छुट्टयाएको थियो’, महाशाखा प्रमुख कार्कीले भने, ‘तर, ९४ लाख रुपियाँको ठेक्का स्वीकृत भइ अस्पताल निर्माण भएको छ ।’

नेपालमै भएको निर्माण सामग्री प्रयोग गरेर कोरोना विशेष अस्पताल तयार पारिएको जनाइएको छ । ‘प्रि–फ्याब हाउस’ तयार पारिएकाले समयमै निर्माण कार्य सम्पन्न भएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए । 

यो संगै कञ्चनपुरको भीमदत्त नगरपालिकामा पनि ५० शैयाकै कोरोना विशेष अस्तालको निर्माण थालिएको छ । प्रदेश सरकारकै १ करोड बजेटमा निर्माण हुने सो अस्पतालको निर्माण कार्य भने निकै सुस्त रहेको पाइएको छ । स्वास्थ्य महाशाखा प्रमुख कार्कीले हालसम्म ४० प्रतिशत निर्माणको कार्य मात्रै भएको जानकारी दिए ।

मुलुकको अन्य प्रदेशमा जस्तै सुदूरपश्चिम प्रदेश पनि कोरोनाको जोखिम क्षेत्रमा पर्दछ । कैलालीको ४ र कञ्चनपुरको १ गरी सुदूरपश्चिम प्रदेशमा ५ जना कोभिड–१९ संक्रमित थिए । तर उनीहरु उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्