
सिंगापुरमा लागूऔषध कारोबारमा दोषी ठहरिएका एक व्यक्तिलाई जूममा भिडियो कल गरेर मृत्युदण्ड दिइएको छ । सिगापुरको इतिहासमा यसरी अपराधी सशरीर उपस्थित नभई मृत्युदण्ड दिइएको यो पहिलो घटना हो ।
पुनिथन गेनसन नामक ३७ वर्षीय मलेसियालीलाई सन् २०११ मा हेरोइनको कारोबार गरेकोमा दोषी ठहर गर्दै शुक्रवार मृत्युदण्ड दिइएको हो । देशमा कोरोनाभाइरस संक्रमण रोक्नका लागि बन्दाबन्दी लगाइएकाले भर्चुअल फैसला सुनाइएको हो ।
दूर सुनुवाइ प्रक्रिया अपनाएर मृत्युदण्डको फैसला दिइएको यो पहिलो मुद्दा भएको सर्वोच्च अदालतका एक प्रवक्ताले जानकारी दिए ।
गेनगसनका वकिल पिटर फर्नान्डोले न्यायाधीशको फैसला जूम कलमार्फत पाएको र यसमा अपील गर्ने सोच बनाएको बताए ।
अधिकारवादी समूहहरूले मृत्युदण्डको मुद्दामा जूमको उपयोगलाई आलोचना गरेको भए पनि फर्नान्डोले शुक्रवारको भिडियो कन्फरेन्सिङमा आपत्ति जनाएनन् किनकि त्यसमा न्यायाधीशले फैसला मात्र सुनाए, कुनै कानूनी बहस सुनेनन् ।
अमेरिकाको क्यालिफोर्नियामा रहेको प्रविधि कम्पनी जूमले यस विषयमा टिप्पणी गरेको छैन ।