१२ साउन २०८३, मंगलबार

पर्याप्त परीक्षण गर्न असम्भव भएपछि थप किट किन्ने प्रक्रिया अघि बढाउँदै स्वास्थ्य मन्त्रालय

जेठ ७, २०७७
पर्याप्त परीक्षण गर्न असम्भव भएपछि थप किट किन्ने प्रक्रिया अघि बढाउँदै स्वास्थ्य मन्त्रालय

कोरोनाभाइरस (कोभिड– १९) को संक्रमण समुदाय स्तरमा फैलिन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप स्वास्थ्य सामग्री किन्न सक्रियता अघि बढाएको छ ।

केही समय अघिसम्म नेपालमा भाइरसको प्रभाव खासै धेरै देखिँदैन भन्ने आंकलन गरेको मन्त्रालय अब भने परीक्षणको दयारा झनै फराकिलो बनाउनेतर्फ लागेको छ ।

मन्त्रालयले असार मसान्तसम्ममा देशभर ५ लाखभन्दा बढीको कोरोना परीक्षण गर्ने भएको छ ।

मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘पछिल्लो समय संक्रमितको संख्या बढ्दै जान थालेको छ, जसले गर्दा कन्ट्याक्ट ट्रेसिङ बढाउनुका साथै अन्य परीक्षण पनि बढाउनुपर्ने निष्कर्षसहित ५ लाखभन्दा बढी पीसीआर र आरडीटी परीक्षण गर्ने तयारी मन्त्रालयले गरेको छ ।’

स्वास्थ्य मन्त्री भानुभक्त ढकालले समेत अब अवस्था भयावह हुन थालेको र परीक्षण झन बढाउनुपर्ने भन्दै यो महिनाभित्र ५ लाखभन्दा बढीको आरडीटी र पीसीआर परीक्षण गर्नुपर्ने भन्दै सम्बन्धितलाई निर्देशन समेत दिएका छन् ।

पछिल्लो समय कोरोना भाइरसका बिरामी बढ्दै गएका छन् । पछिल्लो तथ्यांकअनुसार नेपालमा संक्रमित हुनेको संख्या ४ सयभन्दा माथि नाघेको छ ।

यसअघि स्वास्थ्य मन्त्रालयका विज्ञहरूले करीब २ लाखको परीक्षण गर्दा नेपालमा कोरोना नियन्त्रण आउने बताउँदै आएका थिए, तर पछिल्लो समय भारतबाट लुकिछिपी आउनेहरूमा भाइरस देखिन थालेपछि परीक्षण झनै बढाउनुपर्ने निष्कर्षमा स्वास्थ्य मन्त्रालय पुगेको हो ।

अहिलेसम्म नेपालमा पीसीआर र आरडीटी गरेर ९० हजारमाथि परीक्षण भएको छ ।

५ लाखको परीक्षण गर्ने लक्ष्य लिएको मन्त्रालयले त्यसका लागि प्रयोगशालामा आवश्यक पर्ने पीसीआर रिएजेन्ट पुनः किन्ने समेत बताएको छ ।

थप एक लाख किट किन्ने प्रक्रिया शुरू भएको मन्त्रालयका एक अधिकारीले बताए ।  

उनले भने, ‘परीक्षणको दायरा बढाउने निर्णय गरेसँगै अब रिएजेन्ट किटको पनि अवाश्यकता पर्छ, त्यसका लागि पनि तयारी गरेका छौं ।’

यसअघि स्वीजरल्याण्डले दिएको ३० हजार पीसीआर रिएजेन्ट, भारतले दिएको ३० हजार पीसीआर रिएजेन्ट र केही दिनअघि चीनले समेत ४० हजार थान पीसीआर रिएजेन्ट  दिएको थियो । तर चीन सरकारको अनुदानमा आएको ४० हजार थान पीसीआर किटमा आरएन एक्स्ट्र्याक्सन नभएपछि हालसम्म प्रयोगमा आएको छैन ।

नेपाल सरकारले नेपाली सेनालाई जीटुजीमार्फत किन्न दिएको कोरोना उपचारसम्बन्धी औषधि, रिएजेन्ट किट, पीपीई लगायतका १८.७ टन सामानहरू हवाई ढुवानीमार्फत ल्याइएको छ ।

यसभन्दा अगाडि सडकमार्गबाट आउने सामानहरू गत ३ गते १० वटा कन्टेनरमा २ सय ६५ क्युबिक मिटर र ६ गते ५ वटा कन्टेनरमा १ सय ७६ क्युबिक मिटर सेनाले ल्याएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्