२५ जेठ २०८३, सोमबार
संक्रमितलाई सम्हाल्नै गाह्रो

नरैनापुर गाउँपालिका अध्यक्ष भन्छन्– 'सम्हाल्न सकिनँ, टाउकोमा हात राखेर रोइराछु'

जेठ ७, २०७७
नरैनापुर गाउँपालिका अध्यक्ष भन्छन्– 'सम्हाल्न सकिनँ, टाउकोमा हात राखेर रोइराछु'

पछिल्लो समय कोरोनाभाइरस (कोभिड– १९) संक्रमणको ‘हट-स्पट’ बनेको बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले परिस्थिति नियन्त्रणभन्दा बाहिर गइरहेको भन्दै दु:ख प्रकट गरेका छन् । 

गत जेठ ४ गते भारतको मुम्बईबाट आएका एक संक्रमितको मृत्यु भएपछि परिस्थिति थप तनावग्रस्त बन्न पुगेको छ । 

लोकान्तरसँग कुरा गर्दै अध्यक्ष शाहले आफूसँग टाउको समातेर रुनुको विकल्प नरहेको सुनाए । 

‘हिजो म एकछिन टाउको समातेर रोएँ,’ उनले भने, ‘यहाँका मान्छेहरूले पनि बुझिरहेका छैनन्, संक्रमितहरूले नै आफूलाई केही नभएको र जबर्जस्ती राखिएको भनेर आरोप लगाउन थालेपछि हामीसँग अरू के विकल्प रह्यो र ?’

शाहले सेना र प्रहरीले आफ्नो गाउँपालिकाको जिम्मा लिनुपर्ने बताए । ‘हाम्रो गाउँपालिका एकदमै पिछडिएको छ, यहाँ आधारभूत स्वास्थ्य सेवा त थिएन नै, चेतना पनि पिछडिएको छ,’ उनले भने, ‘हामीले शून्यबाट शुरू गरेका हौं । म आफैं दौडिँदा दौडिँदै हैरान भएको छु, तर पनि परिस्थिति नियन्त्रणमा आइरहेको छैन ।’ 

नरैनापुरमा अहिले १४ वटा क्वारेन्टाइनस्थल छन् । हिजोमात्र नयाँ ठाउँमा पाल टाँगेर ३७ जनालाई राखिएको छ । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले लोकान्तरसँग भने, ‘सशस्त्र प्रहरी बलको निगरानीमा सबैलाई राखिएको छ तर प्रहरीले मात्र परिस्थिति नियन्त्रण गर्न सकिरहेको छैन । क्वारेन्टाइनबाट मान्छे भाग्न खोज्ने प्रवृत्ति यथावत छ । एकले अर्कोलाई सम्झाउने भन्दा पनि भड्काउने खालको परिस्थिति बनिरहेको छ ।’

नरैनापुरमा रहेका क्वारेन्टाइनमा साढे ७ सय जति मानिसलाई राखिएको छ । तर स्वाब भने अहिलेसम्म २ सय ३६ जनाको लिइएको छ ।

परीक्षण रिपोर्ट छिटो नआउँदा थप समस्या भएको खरालले बताए । 

उनले क्वारेन्टाइनमा सबैलाई राम्रैसँग राखिएको बताएका छन् । ‘अहिले गर्मीको सिजन भएकाले मच्छरको प्रकोप हुने हुनाले सबैलाई झुल पनि दिइएको छ,’ खरालले भने, ‘२/३ मिटरको दूरीमा राखिएको छ । खानाको व्यवस्था गाउँपालिकाले नै गरिरहेको छ । गाउँपालिकासँग बजेट सकियो, विभिन्न शीर्षकमा माग गरेका छौं ।’

उनले संघ र प्रदेश सरकारले नहेरे परिस्थिति थप जटिल बन्दै जाने बताए । 

नरैनापुर कोरोनाको हटस्पट बनेपनि क्वारेन्टाइनमा रहेका सबैको परीक्षण किन नगरिएको हो, आफूलाई थाहा नभएको बाँके जिल्ला समन्वय समितिका प्रमुख अजयकुमार श्रीवास्तव बताउँछन् । 

‘संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङ त परै जाओस्, क्वारेन्टाइनमा रहेका सबैको परीक्षण गरिएको छैन,’ असन्तुष्टि पोख्दै श्रीवास्तवले लोकान्तरसँग भने, ‘नरैनापुरमा मात्र ६८ जना संक्रमित भेटिएको छ । त्यो २ सय ३६ को परीक्षण गर्दा भेटिएको हो । क्वारेन्टाइनमा रहेका ७ सयभन्दा बढीको परीक्षण गर्ने हो भने अझ धेरै भेटिने सम्भावना छ ।’

श्रीवास्तवले नरैनापुरको बोर्डरपारी २ सयभन्दा बढी नेपाल आउने तयारीमा रहेको बताए । ‘भारततर्फ रहेकाको समग्र संख्या डेढ हजारभन्दा पनि बढी छ । उनीहरूमध्ये कतिपय लुकेर नेपाल आइसके । तिनीहरू कहाँ छन् अझै सबैका बारेमा पत्ता लाग्न सकेको छैन,’ श्रीवास्तवले दु:खेसो पोखे । 

उनी आफैं नरैनापुर गइरहन्छन् । ‘मा पूरै पालिका घुमेको छु, परिस्थिति अत्यन्तै भयावह छ,’ उनले भने । 

उनले प्रदेश र केन्द्र सरकारसँग जनशक्ति बढाइदिन, स्वास्थ्य सामग्रीहरू थपिदिन र बजेट बढाइदिन आग्रह गरिरहेको खुलासा गरे, तर प्रदेश र केन्द्रले बेवास्ता गरिरहेको छ ।

नरैनापुरस्थित क्वारेन्टाइनमा रहेका एक युवाको कोरोना पुष्टि हुनुअगावै मृत्यु भएको थियो । राति गम्भीर बिरामी भएका ती संक्रमितलाई अस्पताल लैजान एम्बुलेन्स खोज्दाखोज्दै मृत्यु भएको हो । 

उनको मृत्यु भएपछि मात्र कोरोनाको पोजिटिभ रिपोर्ट आएको थियो । यता संघीय सरकारले भने सबै ठीकठाक मात्र रहेको बताउने गरेको छ ।

संसद्‍मै पनि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले राम्रो व्यवस्थापन गरिरहेको बताएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्