ताइवानलाई विश्व स्वास्थ्य सभाको बैठकमा निमन्त्रित नगरिएको विषयमा ताइपेइ र बेइजिङबीच विवाद गहिरिएको छ ।
ताइवानकी राष्ट्रपति त्साई इङ–वेनले बुधवार चीनको सम्प्रभुताको दाबीमाथि कडा आपत्ति व्यक्त गरेकी छन् । चीनले ताइवानका विषयमा एक देश, दुई प्रणाली अन्तर्गत स्वायत्तताको प्रस्ताव गरेको भए पनि आफूहरू चीनको अंग नबन्ने उनको भनाइ छ ।
केही महिनाअघि सम्पन्न आमनिर्वाचनमा त्साईको दलले चीनविरुद्ध सशक्त रूपमा खडा हुने प्रतिज्ञाका साथ भारी बहुमत ल्याएर विजयी भएको थियो ।
उनले भनिन्, ‘म शान्ति, समता, लोकतन्त्र र संवाद यी शब्दहरू दोहोर्याउन चाहन्छु । हामी ताइवानको स्तर घटाउने गरी बेइजिङका अधिकारीहरूले भन्ने गरेको एक देश, दुई प्रणालीलाई कदापि स्वीकार गर्दैनौं ।’
चीनको ताइवान मामिला कार्यालयले त्साईको भनाइमा प्रतिक्रिया दिँदै बेइजिङ एक देश, दुई प्रणालीको सिद्धान्तमा कायम रहेको जनाएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको ताइवान नीतिको केन्द्रीय तर्क नै त्यही हो । ताइवानमा हुने स्वतन्त्रता तथा पृथक्तावादी गतिविधिका लागि कुनै पनि अवसर नदिइने उक्त कार्यालयको भनाइ छ ।
यसैबीच ताइवानले विवाद नचर्काउन संवादको ढोका खुलै राखिएको जनाएको छ ।