
काठमाडौं, १३ वैशाख — भारतीय जनता पार्टी (भाजपा) ले राजधानी नयाँ दिल्लीका तीन स्थानीय निकायको निर्वाचनमा ठूलो विजय पाउने लक्षण देखाएको छ । प्रतिस्पर्धी आम आदमी पार्टीले भने विद्युतीय भोटिङ मशिनका कारण आफूले चुनाव हारेको प्रतिक्रिया दिएको छ ।

यो परिणाम दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका लागि ठूलो धक्का हो । सन् २०१५ को विधानसभा चुनावमा प्रचण्ड बहुमत ल्याएका केजरीवाल अहिले पार्टीको अस्तित्व जोगाउनका लागि संघर्ष गरिरहेका छन् ।
भाजपा तीनै कर्पोरेसनमा अगाडि हिँडिरहेको छ ।
आम आदमी र कंग्रेस पार्टीले दोस्रो स्थानका लागि प्रतिस्पर्धा गर्दैछन् ।
हार स्वीकार गर्दै कंग्रेसका दिल्ली प्रमुख अजय माकनले राजीनामा दिएका छन् । ‘हामीले अपेक्षा पूरा गर्न सकेनौं । मैले राजीनामा दिने निर्णय गरेको छु ।’
आम आदमीको खराब प्रदर्शनपछि उपमुख्यमन्त्री मनीष सिसोदिया र दिल्लीका श्रममन्त्री गोपाल रायले केजरीवाललाई भेटेर हारको समीक्षा गरेका छन् ।
हार स्वीकार्न नसकेको आम आदमी पार्टीले सबै दोष विद्युतीय मशिनमा थोपरेको छ ।
हिन्दुस्तान टाइम्सबाट