
भारतीइ योगगुरु रामदेवले प्राणायाम गर्दा अनि आयुर्वेदिक औषधि लिँदा रोगप्रतिरोधक क्षमता बढ्ने र कोभिड–१९ टाढै बस्ने बताएका छन् ।
बुधवार मध्य प्रदेशका ५२ जिल्लाका स्वास्थ्य अधिकारीहरूसँगको भिडियो कन्फरेन्समा रामदेवले भने, ‘व्यक्तिको रोगप्रतिरोध क्षमता बलियो भएमा कोरोनाले कुनै हानि गर्दैन । आयुर्वेदिक औषधि र प्राणायामले शरीरको इम्युनिटी बढाउँछ ।’
अश्वगन्धा र गिलोय भाइरसको संक्रमण रोक्न प्रभावकारी रहेको उनले दाबी गरे । ‘कोरोना रोगीहरूको उपचारमा यी औषधिले राम्रो परिणाम दिएको पाइएको छ ।’
कोरोना रोगीहरूले प्राणायाम गर्दा पनि तत्काल राहत पाउँछन्, उनले दाबी गरे ।
आयुष विभागका सचिव एमके अग्रवालले क्वारेन्टीन केन्द्रमा राखिएका चार हजारजनालाई आरोग्य कषायण–२० नामक आयुर्वेदिक औषधि दिइएको बताए । ‘सातजना आयुर्वेदविज्ञहरूले १९ वटा जिल्लामा यो औषधिको प्रभावकारिताका विषयमा क्लिनिकल परीक्षण गरिरहेका छन् । हामी अनुसन्धान पत्र केन्द्र सरकारलाई बुझाउँदैछौं र यसको आरम्भिक प्रतिवेदन पेश गरिसकेका छौं,’ डा अग्रवालले बताए ।