
पोखरा महानगरपालिका–२७ अर्घौमा गत शनिवार भएको युवक हत्याकाण्डका २ जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।
सामान्य निहुँमा ढुंगाले हानी हत्या गर्ने मृतकका सहकर्मीहरू भएको खुलेको छ ।
हत्याकाण्ड लुकाउन खाल्डो खनेर गाडिएको अवस्थामा प्रहरीले मंगलवार शव उत्खनन् गरी बाहिर निकालेको थियो । मृतक कास्कीको मादी घर भई हाल पोखरा–२७ सुन्दरीबजार बस्ने २१ वर्षीय सुजन विक हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीवार पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार पक्राउ पर्नेमा सुजनसँगै काम गर्ने प्यूठानका २ जना युवक छन् । प्यूठानको गौमुखी गाउँपालिका–३ घर भई हाल पोखरा–२७ सुन्दरीबजार बस्ने २३ वर्षीयका प्रकाश घर्ती मगर र २१ वर्षीय थमन पुनमगर पक्राउ परेका छन् । अभियुक्तहरू बिजुलीको काम गर्दै आएका थिए ।
सार्वजनिक गरिएको घटना विवरण अनुसार जेठ ३ गते शनिवार राति सवा ७ बजे सुजन, प्रकाश, थमन, राम पुनमगरसहित ५ जनाले सँगै रक्सी खाए । तीमध्ये रामु साढे ९ बजेतिर सँगै रहेकी एक दिदीलाई छोड्न भनी निस्के ।
बाँकी रहेका सुजन, प्रकाश र थमन पनि रक्सी खाएपछि घरजान भनी निस्के । बाटोमा सुजनले गालीगलौज र होहल्ला गर्दै हिँड्न थालेपछि सहकर्मीहरूले निको मानेनन् । १–२ पटकसम्म हल्ला नगर भनी सम्झाए पनि । पछि अटेर गरेपछि थमनले सुजनलाई मुक्का हाने । पछाडिबाट मुक्का हानेपछि सुजन थचक्क भुइँमा बसे र पुनः चिच्याउन र कराउन थाले ।
लगत्तै प्रकाशले जमिनमा रहेको ढुंगो टिपेर सुजनको टाउकोको पछाडि बजारे । करीब ३ किलो बढी तौल रहेको ढुंगाको प्रहारबाट सुजनको टाउकोको बायाँपट्टि लाग्यो ।
विडम्बना ! सुजनको घटनास्थलमै मृत्यु भयो । ख्यालख्यालमै सहकर्मीको मृत्यु भएपछि अभियुक्त प्रकाश र थमन कालोनिलो भए । उनीहरूले हाल शव भेटिएको स्थानभन्दा करीब २–३ सय मिटर पूर्वतर्फ सुजनको हत्या गरेका थिए । पछि शव झुण्डाउँदै उनीहरूले बाँझो रहेको खेतको डिलमा ढुंगाको पर्खालबाट शव छिराए र घर फर्किए । मिलेर सँगै फेरि गाँजा खाए ।
शव सही व्यवस्थापन नभएकाले हत्याकाण्डको पोल खुल्ने डरले उनीहरू राति पुनः घटनास्थल फर्के र काठको दाउराले केही भाग खनी खोस्री सामान्य तरिकाले ढुंगाले पुरेर फर्के । उनीहरू घर फर्किदाँ रातको साढे १२ बजेसकेको थियो ।
साथीहरू सँगसँगै गएको छोरो नफर्केपछि सुजनकी आमाले उनीहरूलाई सोधखोज गरिन् । उल्टै उनीहरूले पर चौतारीसम्म गएको पछि अर्को साथीले बोलाएकाले १५ मिनेटमै आउँछु भनी गएको, हामीलाई थाहा भएन, के अझैसम्म आएका छैनन् र भनी उल्टै प्रतिप्रश्न गरेको घटनाको व्यहोरा कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले पत्रकार सम्मेलनमा सार्वजनिक गरे ।
उनका अनुसार सुजन हराएपछि सोधखोज गर्दा पनि पत्तो नलागेपछि घरपरिवारले जेठ ६ गते मंगलवार प्रहरीसमक्ष उजुरी गरेका थिए । उजुरी परेकै दिन साँझ ५ बजेतिर कास्की प्रहरी प्रमुख कार्कीसहित डाँडाकोनाक प्रहरी चौकीका प्रमुख प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाट, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नरहरि अधिकारी सम्मिलित टोलीले शव भेटाएको हो ।
त्यसपछि हत्याकाण्डको घटना बाहिरियो । प्रहरीले मंगलवार र बुधवार गरी घटनाको अनुसन्धान क्रममा १० जना मानिसलाई पक्राउ गरी बयान लिएर छाडेको थियो । ती १० जनामध्ये अभियुक्त भनिएका प्रकाश र थमन पनि थिए ।
शुरूआतमा कठिन परेको प्रहरीलाई पछि अनुसन्धान ‘न्यारो डाउन’ गर्दै जाँदा हत्याको रहस्यसँगै अभियुक्त पहिचान गर्न सहज भएको बताइएको छ । दुवै अभियुक्तलाई बिहीवार बिहान पुनः पक्राउ गरिएको थियो ।
कास्कीमा गत जेठ ३ मा समेत पोखरा–१४ मा २२ वर्षीय बिमल रानाभाटको शव प्रहरीले गाडिएकै अवस्थामा फेला पारेको थियो । आफ्नै साथी ज्ञानबहादुर परियारले घनले हानेर रानाभाटको हत्या गरेको अनुसनधानमा खुलेको थियो । परियारले १ महिनाअघि रानाभालाई घनले हानेर हत्या गरी उनकै घर पछाडि बारीको डिलमा शव गाडेका थिए ।