
प्रदेश पाँच सरकारले आर्थिक वर्ष २०७७/७८ को नीति कार्यक्रम यहीँ जेठ १० गते प्रस्तुत गर्ने भएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले आवको नीति कार्यक्रम जेठ १० गते दिउसो ३ बजे प्रस्तुत गर्न प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको हो । त्यस्तै जेठ १५ गते गणतन्त्र दिवसमा दिपावली गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।
त्यस्तै तराईका जिल्लामा २ सय र पहाडी जिल्लामा ५० बेडको आइसोलेसन केन्द्र बनाउने पनि निर्णय भएको छ । आइसोलेसन केन्द्रमा पिसिआरबाट पोजेटिभ देखिएका र कोभिड १९ को लक्षण नदेखिएका बिरामीलाई राखिने छ ।
आइसोलेसन केन्द्र बनाउन कोभिड कोषबाट रकम दिइने केसीले जानकारी दिए । प्रदेश सभामा प्रमुख प्रतिपक्ष दल कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएकोमा उहाँले पाउनुपर्ने बीमा बापतको १० लाख रुपैंया प्रदान गरिने भएको छ ।