
पूर्वी र पश्चिम नवलपरासीमा शुक्रबार चार जना कोरोना संक्रमित थपिएका छन् । जसमा पश्चिम जिल्लामा ३ र पूर्वी जिल्लामा १ जना छन् । योसँगै पश्चिम नवलपरासीमा कोरोना संक्रमित हुनेको संख्या ५ पुगेको छ । भने पूर्वी जिल्लामा ३ पुगेको छ ।
पश्चिम जिल्लामा शुक्रबार संक्रमित हुनेमा रामग्राम नगरपालिका–३ घोडपालीका ३३ वर्षीया पुरुष र वडा नं. १८ पम्फापुरकी १५ वर्षीया किशोरी छन् । अर्का सुस्ता गाउँपालिका–५को बेलवानी क्वारेन्टाइनमा रहेका ३५ वर्षीया पुरुष छन् ।
उनी सोही वडाका हुन् । यसअघि सोही वडा र क्वारेन्टाइनमा बस्ने २६ वर्षीया पुरुषमा कोरोना देखिएपछि भीम अस्पताल भैरहवा पठाइएको छ । त्यसैगरी पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–६ को क्वारेन्टाइनमा बस्ने सोही वडाका ४५ वर्षीया पुरुषमा कोरोना पुष्टि भएको छ ।
रुपन्देहीका कोरोना अस्पताल बिरामीले भरिएपछि जिल्लाका संक्रमितलाई कहाँ लैजाने भन्ने अन्यौल भएको छ । संक्रमितलाई भैरहवा र बुटवल पठाउने भनिए पनि त्यहाँ बेड अभावले पठाउन नसकिएको स्वास्थ्य कार्यालयका प्रमुख गौरब ढकालले बताए । जिल्लामा आइसोलेसन कक्ष छैन ।
जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपनि आइसोलेसन कक्ष नहुँदा उनीहरुलाई राख्न समेत अन्यौल भएको छ । आइसोलेनस नहुँदा उनीहरुलाई राख्ने विषयमा अन्यौल भएको निमित्त प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताए । यसअघि जिल्लामा देखिएका २ संक्रमितलाई भैरहवा भीम अस्पताल पठाइएको थियो ।
प्रदेश सरकारले हरेक जिल्लामा २ सय बेडको आइसोलेसन सेन्टर निर्माण गर्ने जनाएको छ । तर स्थानीय तहमा त्यसको व्यवस्थापनका लागि स्पष्ट निर्देशनसहित सहयोग उपलब्ध नभएकाले केही जटिलता भएको बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्माले बताए । उनले नगरपालिकाले हाल १० बेडको आइसोलेसन बनाउन थालेको बताए ।
प्रदेश सरकारले आइसोलेन बनाउन भने पनि अहिलेसम्म व्यवस्थापनका लागि सहयोग नगरेको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ताले बताए । प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको जिल्ला स्तरीय कोभिड –१९ संकट व्यवस्थापन केन्द्रको बैठकले पाल्ही बहुमुखी क्याम्पस र शहिद स्मृति सामुदायिक अस्पताल बर्दघाटमा १/१ सय बेडको आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको छ । तर अहिलेसम्म बन्न सकेको छैन ।