
बुटवलको प्रमुख व्यापारिक केन्द्र अमरपथ सोमबार बिहान बन्द थियो । त्यहाँ व्यापारिक प्रयोजनका लागि कुनै पसल खुलेका थिएनन् । तर, हरेक सोमबार बन्द रहने बजारको एक सुनचाँदी पसल अगाडि भने बिहानै भिडभाड थियो ।
कारण थियो अमरपथको तिनाउ सुनचाँदी पसलमा भएको ‘डरलाग्दो चोरी’ । पसलको सटर बिहानै खुलेको देखेपछि छिमेकीले पसल सञ्चालक दीपक सेन्चुरीलाई सम्पर्क गर्न खोजे । दीपक घुमघामको लागि पोखरा पुगेका रहेछन् ।
त्यसपछि अर्को ठाउँमा सुनचाँदी पसल सञ्चालन गर्ने दीपकका बुवा तुलबहादुर पसलमा आए । उनी पुग्दा त्यहाँको दृष्यले स्तब्ध बनायो । पसलभित्र थियो चाबीको ठूलो झुम्पा । तर, त्यो चाबीको झुम्पा तिनाउ सुनचाँदी पसलको थिएन ।
‘लकर’ खुला अवस्थामा थियो । लकरमा बन्द गरेर राखेका सुनका गरगहना गायब थिए । अझै अचम्मको कुरा त के छ भने, पसलभित्र जान बनाइएका एउटा च्यानल गेट र अर्को सटर दुवैलाई तोडिएको थिएन ।
सहज रूपमा चाबीले खोलिएको देखिन्छ । पसलभित्र हेर्दा ५०/६० वटा चाबी भएको झुम्पा फेला पर्यो । ‘मास्टर की प्रयोग गरेर पसल लुटिएको जस्तो देखिन्छ’, घटनास्थल पुगेका वडाध्यक्ष नरिवश्वर पौडेल भन्छन्, ‘पसलभित्र लकर पनि खोलेर त्यहाँभित्र राखिएका सुन र गहना लुटिएको रहेछ । यो पेसेवर चोरी गर्नेले गरेजस्तो देखिन्छ ।’
‘मास्टर चाबी’ प्रयोग गरिएको आशंकाले यो घटना अझ रहस्यमय बनेको छ । २०४२ सालदेखि सञ्चालनमा रहेको तिनाउ सुनचाँदी पसल वरपर र अगाडि पनि अन्य सुनचाँदी पसल छन् । १५० मिटर नजिकै प्रहरी बिट र सिंह कम्प्लेक्समा सेक्युरिटी गार्ड पनि थिए ।
पसलमा तीन महिनादेखि सीसीटीभी क्यामेरा बिग्रिएको पाइएको छ । पसल सञ्चालक नहुनु, लामो समयदेखि सीसीटीभी क्यामेरा समेत नहुनुले ठूलो आशंका जन्माएको अनुसन्धान अधिकृतहरू बताउँछन् ।
‘पसलभित्र र बाहिर दुवैतर्फको सीसीटीभी क्यामेरा बिग्रिएको थियो’, सोही पसलमा काम गर्ने नवीन विकले भने, ‘बेलुका सही रूपमा बन्द गरेर गएको पसल बिहान चोरी भएको पाइयो । नजिकै प्रहरी बिट र प्रहरी कार्यालय हुँदा समेत यस्तो घटना हुनु सामान्य होइन ।’
पसलमा दुई वटा लकर थिए । सबैजसो गहना र सुन राखेको लकर खोलिएको छ । अर्को खासै केही नराखिएको लकर खोलेको नदेखिएको नवीनको भनाइ छ ।
इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवले सुन पसलमा कति चोरी भएको भन्ने सम्बन्धित व्यक्ति आएपछि पुष्टि हुने बताए ।
‘घटना राति १२ बजेपछिको भएको जस्तो देखिन्छ’, डीएसपी श्रीवास्तवले भने, ‘एउटा संकेत प्रहरीले फेला पारेको छ । त्यहीँबाट अनुसन्धान अघि बढाएका छौं । पसलका खास सञ्चालक पोखरा घुम्न जानुभएको रहेछ । आउँदै हुनुहुन्छ । घटनाको विस्तृत अनुसन्धान उहाँ आएपछि हुन्छ ।’
सीसीटीभी, डिजिटल ‘लक’ जस्ता प्रविधि प्रयोग गरिए पनि सुरक्षा व्यवस्थामा सानो कमजोरी हुँदा ठूलो क्षति भइरहेका छन् । घटनाले स्थानीय व्यवसायीमा चिन्ता बढाएको छ । यसले बजार क्षेत्रमा सुरक्षा व्यवस्था कत्तिको प्रभावकारी छ भन्ने प्रश्न उठ्न थालेको छ ।
विशेषगरी सुनचाँदी व्यवसाय जस्ता उच्च मूल्यका सामान कारोबार हुने क्षेत्रमा थप सतर्कता आवश्यक रहेको व्यवसायीहरूको भनाइ छ ।
केही वर्षअघि पनि अमरपथको एक सुनचाँदी पसलमा ठूलो चोरी भएको थियो । त्यतिबेला प्रहरीले चोरीमा संलग्नलाई पक्राउ गर्न सकेको थिएन । पछिल्ला वर्षमा सुरक्षा प्रविधिमा सुधार भए पनि अपराधीहरूले नयाँ–नयाँ तरिका अपनाउन थालेका अनुसन्धान अधिकृतहरू बताउँछन् ।