संकटका बेलामा मानिसको असल र खराब दुवै चरित्र उजागर हुन्छ भनिन्छ ।
भारतको राजधानी नयाँ दिल्लीमा बुधवार ठेलागाडामा बेच्न राखिएको आँप भेटे जति सबैले लुटेका छन् ।
जगतपुरी क्षेत्रमा फलफूल व्यापारी छोटेका अनुसार, टोलमा झैझगडा भएपछि यो घटना भएको हो ।
‘विद्यालय नजिक झगडा भयो । केही मानिसहरू आए अनि मलाई ठेला हटाउन भने,’ उनले बताए ।
उनी आँपलाई सुरक्षित ठाउँतिर लान खोज्दै गर्दा अलि पर पुगे । उनी ठेलासँगै नभएको देखेपछि त्यही बाटो भएर हिँडिरहेकाहरूले मौका छोपे । आफूले बोक्न सक्ने जति आँप बोकेर उनीहरू हिँडिदिए ।
घटनाको भिडियो एक प्रत्यक्षदर्शीले खिचेर सामाजिक सञ्जालमा राखेपछि भाइरल भयो ।
मोटरसाइकल चढेकाहरूले हेल्मेटमा आँप राखे । अरूले चाहिँ अन्यलाई पनि बोलाएर लुट्न प्रेरित गरे । घटनाका कारण उक्त क्षेत्रमा सानतिनो ट्राफिक जाम नै भयो ।
‘मसँग लगभग ३० हजार भारु पर्ने १५ क्रेट आँप थिए । उनीहरूले सबै लुटी लगे,’ छोटेले रुँदै भने ।
कोरोनाभाइरस रोक्न लगाइएको लकडाउनका कारण अहिले व्यापार सुस्त छ र यो घटनाले त आफ्नो ढाडै भाँचे जस्तो भएको छोटेले बताए ।
आफूले प्रहरीसमक्ष उजुरी गरेको तर उनीहरूले कुनै कारवाही नचलाएको उनको गुनासो छ ।