
कोरोना संक्रमणबाट मृत्यु भएका गुल्मीका ४१ वर्षीय पुरूषको शव शुक्रवार अपराह्न बल्ल शव उठेको छ । मृत्यु भएको ३१ घण्टापछि सेनाले शव व्यवस्थापन गरेको हो ।
गुल्मी मदाने गाउँपालिका वडा नम्बर ६ पुर्कोटदहका ४१ वर्षीय शिक्षकको रुपन्देहीको तिलोत्तमास्थित क्रिमशन अस्पतालमा उपचारको क्रममा बिहीवार बिहान ७ बजे निधन भएको थियो ।
मृतकका परिवारले उपचारका अस्पताल र चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै शव बुझ्न मानेका थिएनन् । आफूहरुको सहमतिबिना नै सेनाले शव व्यवस्थापन गरेको मृतकका दाजु मिनबहादुर कुँवरले बताए ।
जिल्ला प्रशासनमा भएको बैठकले शव व्यवस्थापन गर्ने निर्णय गरेपछि शव उठाइएको हो । शिक्षकको जेठ ५ गते कोरोना देखिएको थियो । नेपाली सेना र प्रहरीसहितको टोली क्रिमशन अस्पतालमा शव व्यवस्थापनका लागि पुगेको थियो ।
कुँवरले अस्पतालबाट शव नेपाली सेना र प्रहरीको टोलीले निकालेको बताए ।
मृतकको शवलाई पूर्व–पश्चिम राजमार्गको दक्षिणतर्फ तिलोत्तमास्थित भलुही जंगलमा व्यवस्थापन गरिएको छ ।
सुरुमा बुटवल र तिलोत्तमाको सीमा क्षेत्रमा रहेको मगरघाटमा शव व्यवस्थापन गर्ने भनिए पनि स्थानीयले विरोध गरेका थिए । जेठ १ गते उनी अस्पतालमा भर्ना भएकोमा २ गते आइसियुमा भेन्टिलेरको सहायताले उपचार भएको थियो ।