
हेटौंडा अस्पतालले बहिरङ्ग सेवा (ओपीडी) बन्द गर्ने जनाएको छ ।
अस्पतालमा उपचार गरी काठमाडौं लगिएकी महिलामा कोरोना पुष्टि भएपछि तत्काललाई सो सेवा बन्द गर्न लागिएको हो ।
अस्पतालका चिकित्सक तथा नर्सलगायत २२ जनालाई आइसोलेसनमा राख्ने निर्णय भएको अस्पतालका कोरोना विभागका डा. हरिबहादुर खड्काले जानकारी दिए । यसबाहेक अस्पतालका १५५ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गर्ने जनाइएको छ ।
सामाजिक विकास मन्त्री युवराज दुलालका अनुसार कोरोना संक्रमित महिलासंग विभिन्न चरणमा भेट भएका वा उनको उपचारमा संलग्न लगायतको खोज एवं पहिचान गरी परीक्षण गर्ने तथा आइसोलेसनमा राख्ने काम भइरहेको छ ।
शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा हेटौंडा–३ का १ जनामा काठमाडौंकै प्रयोगशालामा कोरोना पुष्टि भएको जनाइएको थियो ।