
प्रदेश ५ मा कोरोना सङ्क्रमितको सङ्ख्या निरन्तर बढिरहेको छ । तर अर्को खुसीको खबर, कोरोना युद्धलाई जितेर घर फर्किनेको सङ्ख्या पनि बढिरहेको छ ।
नेपालगञ्जमा २१ जनाले कोरोनो जितेर हर्षोल्लास मनाउँदै घर फर्किएको भोलिपल्ट शनिबार साँझ बुटवलको कोरोना विशेष अस्थायी अस्पतालबाट १० जना सङ्क्रमित निको भएर घर फर्किए । यसअघि पनि यही अस्पतालबाट एकजना युवा निको भएर घर जानुभएको थियो ।
सङ्क्रमित बढिरहेको यो प्रदेशमा मुक्त भएर फर्किनेहरू बढेपछि मुख्यमन्त्री शङ्कर पोखरेलले सामाजिक सञ्जालमा खुसी व्यक्त गर्दै उहाँहरूलाई बधाइ दिनुभएको छ । २७० भन्दा धेरै सङ्क्रमित यो प्रदेशमा कोरोना युद्ध जित्नेको सङ्ख्या ३२ पुगेको छ भने ज्यान गुमाउनेको सङ्ख्या दुई रहेको छ ।
बढ्दै छ मनोबल
शुक्रबार रूपन्देहीमा एकैपटक आठजनामा कोरोना सङ्क्रमण भएको समाचारले चिन्तित बनेका जिल्लावासी शनिबार साँझ एकैपटक १० जना कोरोना सङ्क्रमित बिरामी निको भएर घर फर्किएपछि खुसी भएका छन् ।
बुटवल धागो कारखानास्थित बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचारत १० जना कोरोना सङ्क्रमित बिरामी उपचारपछि निको भएर घर फर्किएपछि सबैमा मनोबल बढेको हो । कोरोना सङ्क्रमण पुष्टि भएपछि दुई हप्ताअघि कोरोना अस्पतालको एकान्तवासमा भर्ना भएका बिरामी निको भएर शनिबार घर फर्किएका हुन् । निको भएर घर फर्किने सबै कपिलवस्तु जिल्लाका भएको अस्पतालले जनाएको छ ।
दुई हप्ताको उपचारपछि दुईपटक गरिएको परीक्षणमा उनीहरूको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरी बिदाइ गरिएको बुुटवल कोरोना विशेष (अस्थायी) अस्पतालका फोकल पर्सन तथा वरिष्ठ कन्सलटेन्ट डा. सुुदर्शन थापाले जानकारी दिनुभयो । यसअघि रूपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्षीय युवा पनि कोरोनालाई जितेर घर गइसकेका छन् । धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा रूपन्देही र कपिलवस्तुका गरी ३६ जना कोरोना सङ्क्रमित बिरामीको उपचार भइरहेको थियो । गोरखापत्र दैनिकमा खबर छ ।