काठमाडौँ, १३ वैशाख - राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी दश वर्षमा प्रत्येक नगरपालिकालाई आधुनिक र सबै सुविधायुक्त सहर ‘स्मार्ट सिटी’ का रुपमा विकास गर्ने लक्ष्य लिएको छ ।
स्थानीय तहको निर्वाचनका लागि आज जारी गरिएको सङ्कल्पपत्रमा प्रत्येक गाउँपालिकालाई स्थानीय जनताको आधारभूत आवश्यकता परिपूर्ति गरी आत्मनिर्भर र व्यवस्थित नगरोन्मुख गाउँका रुपमा विकास गराउने उल्लेख छ । यहाँ आज आयोजित कार्यक्रममा पार्टीका अध्यक्ष कमल थापा, वरिष्ठ नेता विश्वबन्धु थापा र पशुपति शम्शेर राणाले संयुक्त रुपमा सो सङ्कल्पपत्रको सार्वजनिक गर्नुभएको हो ।
राष्ट्रियता, प्रजातन्त्र, हिन्दूत्व र आर्थिक उदारवादको धरातलमा समृद्ध नेपाल निर्माण गर्ने लक्ष्य लिई चुनाव जितेको गाउँ/नगरपालिकालाई देशभर ‘नमुना स्थानीय तह’का रुपमा स्थापित र सञ्चालन गरिने उल्लेख छ ।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको आदर्श, मान्यता र योगदानको सम्मान गरिने गरी सङ्कल्पपत्र जारी गरिएको छ । पार्टीले जितेका गाउँ/नगरपालिका अन्तर्गतका प्रत्येक कार्यालयमा राष्ट्रनिर्माताको तस्बिर अनिवार्य रुपमा राखिने छ ।
गाउँ/नगरपालिका भित्रका विद्यालयको पाठ्यक्रममा राष्ट्रियताको भावना अभिवृद्धि हुने विषय समावेश गरिने, स्थानीय भाषा, संस्कृति र पहिचानको संरक्षण गर्दै विविधतामा एकताको मान्यतालाई सुदृढ गरिने ,स्थानीय तहमा गौहत्यालाई पूर्णतः निषेध गरी त्यस्तो अपराधमा संलग्नलाई कडा कारबाही गरिने र गौरक्षाको लागि प्रत्येक गाउँ/नगरपालिकामा गौशाला निर्माण गरिने उल्लेख गरिएको छ ।त्यस्तै कुल बजेटको कम्तीमा २० प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन गरिने सङ्कल्पत्रहमा उल्लेख छ । गाउँपालिका र नगरपालिकाबाट अनुदान प्राप्त गर्ने विद्यालयमा माध्यामिक तहसम्मको पढाइ निःशुल्क गरिने, सार्वजानिक र निजी विद्यालयमा प्रयोग हुने पाठ्यसामग्रीमा देखिएका भिन्नतालाई सम्बोधन गर्न पाठ्यसामग्रीमा आवश्यक परिमार्जन गरी एकरूपता कायम गरिने छ ।
त्यस्तै प्रत्येक गाउँ/कम्तीमा २५ शय्याको अस्पताल निर्माण गरिने छ । अनुदानप्राप्त अस्पतालमा प्राथमिक स्वास्थ निःशुल्क हुनेछ । प्रत्येक गाउँ/नगरपालिकाहरु स्वास्थ्य उपचार कोष खडा गरिने छ ।
विपन्न परिवारमा प्रतिशिशु एकमुष्ठ रु पाँच हजार ‘सुपोषण अनुदान’ आमामार्फत प्रदान गरिनेछ । न्यून आय भएका लक्षित वर्गलाई आवास सुविधा उपलब्ध गराउन विशेष आवास परियोजना कार्यान्वयन गरिने राप्रपाको सङ्कपपत्रमा उल्लेख छ ।
त्यस्तै गरिबी निवारण र रोजगारी प्रवद्र्धन तथा कृषि, उद्योग तथा वाणिज्य क्षेत्रको विकास गरिने छ । गाउँ/नगरपालिकाभित्र २५ भन्दा बढीलाई रोजगारी प्रदान गर्ने उद्योग तथा व्यवसायलाई १० वर्षसम्म सबै प्रकारका स्थानीय कर मिनाहा गरिने छ । कृषि क्षेत्रको व्यावसायिकीकरण, आधुनिकीकरण र यान्त्रिकीकरणका लागि प्रत्येक गाउँ /नगरपालिकाको विशिष्ठताको आधारमा कृषि क्षेत्र विकास योजना कार्यान्वन गरिने छ ।