
प्रादेशिक अस्पताल जनकपुरमा सञ्चालित कोरोना (कोभिड १९) विशेष अस्पताल भरिभराउ भएको छ ।
कूल ४२ शय्या क्षमता भएको अस्पतालमा २९ जना बिरामी मात्र भर्ना भएको अवस्थामा नै अस्पताल गरिएको छ । २८ जना कोरोना संक्रमित र १ जना शंकास्पद व्यक्ति भर्ना छन् ।
धनुषा र सर्लाही जिल्लाका बिरामी अस्पतालमा भर्ना भएका छन् । अब नयाँ कोरोना संक्रमित बिरामीलाई भर्ना लिन नसकिने कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. कुलदीप पण्डितले बताए । १३ शय्या खाली रहेपनि लक्षण नदेखिने साधारण प्रकृतिका बिरामीलाई तत्काल भर्ना लिन नसकिने उनी बताउँछन् ।
‘८ वटा शय्या आईसीयू कक्ष, १ शय्या प्रसूतिको लागि लेबर रुम र १ शय्या सहितको अपरेसन थिएटर, २ वटा शय्या हाई डिपेन्डेन्सी बिरामीका लागि पहिलेदेखि नै छुट्याएर राखिएको छ,’ डा. पण्डितले लोकान्तरसँग भने, ‘त्यसबाहेक पोजेटिभबाट नेगेटिभ हुने बिरामीलाई स्थानान्तरण गर्नका लागि एउटा कक्षमा केही शय्या आरक्षित राखिएको छ ।’
अस्पतालमा १३ शय्या खाली रहेपनि गम्भीर, सिकिस्त कोरोना संक्रमित बिरामी, प्रसूति बिरामीका लागि आरक्षित रहेका कारण नयाँ बिरामीलाई भर्ना नलिइएको उनले बताए ।
धनुषा, महोत्तरी र सर्लाही गरेर ३ जिल्लाका कोरोना बिरामीको उपचार गर्न अस्पताल बनाइएको छ । अब नयाँ बिरामीलाई कहाँ भर्ना गर्ने भन्ने विकल्प समेत खोजिएको छैन । महोत्तरी सदरमुकाम जलेश्वर र सर्लाहीको सदरमुकाम मलंगवामा जिल्ला अस्पताल भएपनि धनुषाको लागि तत्काल कुनै विकल्प नै छैन ।
नयाँ बिरामीलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती थपिएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौला पनि बताउँछन् । ‘केही न केही वैकल्पिक उपाय त पक्कै गर्नुपर्ला तर के उपाय लगाउने भन्ने मलाई केही पनि आइडिया छैन,’ निरौलाले भने, ‘तत्काल नयाँ संक्रमित फेला परे महोत्तरीको जलेश्वर स्थित जिल्ला अस्पतालमा पठाउन सकिन्छ ।’ जलेश्वरमा ३५ शय्याको अस्पताल करीब–करीब तयारी अवस्थामा रहेको उनले बताए ।
दोस्रो विकल्पका लागि धनुषाको नगराईन नगरपालिकाको गंगुलीस्थित प्रादेशिक क्वारेन्टाइनलाई नै आइसोलेसन अस्पतालमा रुपान्तरण गर्न सकिने उनले व्यक्तिगत सुझाव दिए । ‘यो मेरो व्यक्तिगत सुझाव मात्र हो, त्यसका लागि सरसल्लाह तथा छलफल भने गर्नैपर्ने हुन्छ,’ निरौलाले भने ।