
धनुषाको नगराईन नगरपालिका–३ फुलगामाका ३ जना व्यक्तिमा कोरोना संक्रमण पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै संक्रमण देखिएको पुष्टि गरे ।
स्रोतका अनुसार संक्रमित ३ जनामध्ये २ जना प्रहरी हुन् भने १ जना भारतको दिल्लीबाट आएका व्यक्ति हुन् ।
तीनै जनाको स्वाब संकलन जेठ ७ गते नगराईन नगरपालिकाको गंगुलीस्थित प्रादेशिक क्वारेन्टाइनमा भएको क्वारेन्टाइन संयोजक सन्तोष ठाकुरले बताए ।
ईलाका प्रहरी कार्यालय फुलगामामा कार्यरत रहेका १ जना प्रहरी सहायक निरीक्षक (असई) र १ जना प्रहरी कर्मचारी रहेका छन् । ती प्रहरीहरू क्वारेन्टाइनमा नै ड्युटी गरेर प्रहरी चौकीमा फर्किने गरेका थिए । हाल क्वारेन्टाइन केही दिनदेखि सील गरिएको छ ।
भारतको दिल्लीबाट जेठ ६ गते क्वारेन्टाइनमा भर्ना भएका फुलगामाका पुरुष आफ्नो घर नगएर क्वारेन्टाइनमा नै आएका ठाकुरले बताए । ‘उनी दिल्लीमा कागज कारखानामा काम गर्थे । नेपाल र भारतका मानिसहरू सम्मिलित एउटा बस रिजर्भ गरेर आएका थिए,’ उनले भने ।