०६ असार २०८३, शनिबार

नागरिकप्रति सरकार संवेदनशील

जेठ १३, २०७७
नागरिकप्रति सरकार संवेदनशील

प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरूको सुझाव अनुसार जनसङ्ख्याको दुई प्रतिशतसम्म कोरोना भाइरस रोग (कोभिड–१९)को परीक्षण विस्तार गरिने बताएका छन् ।

कोरोना भाइरस सङ्क्रमणको नियन्त्रण तथा रोकथाम सम्बन्धमा सोमबार राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै उनले भने, “कोरोना परीक्षणको दायरालाई विस्तार गर्न किट तथा औषधिको प्रबन्ध द्रूत गतिमा अगाडि बढाइने छ ।”

बन्दाबन्दीले समग्र अर्थतन्त्र र नागरिकमा पर्न गएको अप्ठ्यारोप्रति सरकार गम्भीर र संवेदनशील रहेको चर्चा गर्दै उनले भने, “महामारीबाट जनतालाई मुक्त गर्दै अर्थतन्त्रको रक्षा र रोग तथा भोकबाट जनतालाई जोगाउने सरकारको प्रमुख दायित्व हो ।” बन्दाबन्दीले जीवनलाई असहज बनाए पनि यसले सामाजिक दूरी कायम गर्न, सङ्क्रमित पहिचान गर्न र आइसोलेसनमा राख्न मद्दत पु¥याएको उनले सम्बोधनका क्रममा चर्चा गरे ।

कोरोनाविरुद्धको लडाइँ निकै चुनौतीपूर्ण र लामो हुने यथार्थप्रति सरकार सचेत रहेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले महामारीका कारण स्वदेश फर्कनुपर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्थासम्बन्धी विस्तृत योजनासहितको आदेश तत्काल जारी गरिने बताए । उनले भने, “विश्वका जुनसुकै कुनामा भए पनि अप्ठ्यारोमा परेका नागरिकको सरकारले समयमै उद्धार गर्छ । सरकार नागरिकप्रति संवेदनशील छ ।”

उनले समस्याको प्राथमिकता र देशभित्रको तयारीका बीच सन्तुलन मिलाउँदै नागरिकलाई स्वदेश ल्याउने कार्य छिट्टै सुरु गरिने बताए । कोरोना सङ्क्रमण लम्बिन सक्ने सम्भावनाप्रति ध्यान दिँदै सरकारले एसईईका परीक्षार्थीको शैक्षिक वर्ष खेर जान नदिन आवश्यक व्यवस्था मिलाउनेसमेत उनले बताए ।

आवश्यक नीतिगत व्यवस्थासहित‘भर्चुअल कक्षा’को समेत प्रयोग गरी विद्यालयमा पठनपाठन सञ्चालन गरिने बताउनुहुँदै उनले महामारीको जोखिम न्यून गर्दै आर्थिक क्रियाकलाप सञ्चालन गरिने समेत बताए । उनले भने, “नीति तथा कार्यक्रम अनुसार खेतीको समय खेर जान नदिन, सामाजिक दूरी र आवश्यक स्वास्थ्यको ख्याल गरी कृषि कार्य अघि बढाइनेछ ।”

उनले महामारीबीच अर्थतन्त्रलाई चलायमान राख्ने र राष्ट्रिय गौरवका आयोजनालगायत कतिपय विकास आयोजनालाई अगाडि बढाउने प्रयास र प्रयोग सफल भएको चर्चा गरे । उनले भने, “अब नियन्त्रणको सीमाभित्र रहनसक्ने थप उद्योगहरूलाई सञ्चालनको अनुमति दिइनेछ ।”उनले श्रमिकलाई समुदायमा घुलमिल हुन नदिने शर्तमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको निगरानीमा श्रमिकको परीक्षण गरी उद्योग÷व्यवसाय सञ्चालन हुने स्थानमा ल्याइने बताए ।

प्रधानमन्त्री ओलीले महामारीबाट क्षति भएका औद्योगिक–व्यावसायिक क्षेत्रमा राहत सुविधाको व्यवस्था गरिने बताए । “शिथिल बन्न पुगेको अर्थव्यवस्थालाई दुरुस्त गर्न आवश्यक आर्थिक पुनरुत्थानसम्बन्धी विस्तृत प्रस्ताव छुट्टै जारी गरिने छ,” उनले भने ।

राज्यले उपलब्ध गराउँदै आएको सामाजिक सहायतामा कटौती नगरिने उनले प्रतिबद्धता व्यक्त गरे । उनले भने, “सामाजिक सुरक्षाको दायरा फराकिलो पार्दै योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई परिमार्जन गरिने छ ।”

प्रधानमन्त्री ओलीले रोजगारी गुमाएर विदेशबाट फर्किएकालाई आवश्यक सीप र तालिम दिएर रोजगारीको व्यवस्था गरिने बताए । उनले प्राकृतिक विपत्ति न्यूनीकरण तथा समस्या समाधान कोष र प्राकृतिक विपत्ति राहत कोषको बजेट कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई हस्तान्तरण गरिने बताए ।

क्वारेन्टाइनको सङ्ख्या बढाउँदै गुणस्तरको पुनरावलोकनसहित सुधार गरिने र त्यसको प्रबन्ध, राहत वितरण, आपूर्ति प्रणालीको व्यवस्थापन र अनुगमनमा स्थानीय तहलाई जिम्मेवारी दिइनेसमेत उनले बताए । बन्द रहेका होटल, सार्वजनिक संरचनालाई समेत क्वारेन्टाइनका रूपमा प्रयोग गर्ने योजना सरकारको रहेको उनले बताए ।

कोरोनाविरुद्धको जारी ‘युद्ध’लाई कमजोर पार्न नहुनेमा जोड दिनुहुँदै उनले भने, “महामारी विस्तार भएको ठाउँलाई नियन्त्रणमा लिएर ‘युद्धस्तर’मा परीक्षण तथा नियन्त्रणको कार्यलाई अघि बढाइने छ ।”
उनले महामारी नियन्त्रणमा लिन सरकारी निकायहरू चुस्त र प्रभावकारी हुनुपर्नेमा जोड दिनुहुँदै समयको चुनौती सामना गर्न नसक्ने संरचनाको नेतृत्व तत्काल पुनःव्यवस्था गरिने बताए । उनले महामारीविरुद्ध एकीकृत ‘कमान्ड’ एवं केन्द्रीय योजनालाई थप प्रभावकारी बनाइने बताए ।

“फैलिँदो महामारीप्रति चासो राख्ने र यस महामारीविरुद्धको लडाइँमा कुनै न कुनै रूपमा संलग्न विभिन्न पक्षलाई समेटेर परामर्श दातृ संयन्त्र बनाइने छ,” उनले भने । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्