
अमेरिकाका विभिन्न शहरमा हिंस्रक विरोध प्रदर्शनहरू भएपछि कानून व्यवस्था कायम गर्न राष्ट्रपति डोनल्ड ट्रम्पले ट्यांक तथा अन्य सशस्त्र सैन्य वाहन प्रयोग गर्न खोजेको रक्षा अधिकारीहरूले खुलासा गरेका छन् ।
काला जातिका पुरुष जर्ज फ्लोयडलाई प्रहरीले हत्या गरेको विरोधमा भएको प्रदर्शन दोस्रो हप्तामा प्रवेश गरेपछि ट्रम्पले अशान्ति रोक्न सेना खटाएका हुन् ।
सोमवार अधिकारीहरूले वाशिङटनको लफाएट पार्कबाट सयौं प्रदर्शनकारीहरूलाई हटाएका थिए ।
ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले नाम नखुलाउने शर्तमा बताएअनुसार, ट्रम्पले वाशिङटनमा प्रदर्शनकारीमाथि कठोर दमन गरेर देशभरिका विरोधकर्तालाई पाठ पढाउन खोजेका थिए ।
रक्षा मन्त्रालय पेन्टागनका दुई अधिकारीले एपी समाचार संस्थालाई बताएअनुसार, राष्ट्रपतिले वाशिङटनको आकाशमा सोमवार राति सैन्य हेलिकप्टर उडाएर प्रदर्शनकारीलाई तर्साउन खोजेका थिए ।
कतिवटा र कस्तो किसिमको हेलिकप्टर उडाइएको भनी उनीहरूले खुलाएनन् ।
सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियो र फोटोमा हेलिकप्टरहरू भवन नजिक भएर उडिरहेको अनि सडकमा आएका मानिसको समूहमाथि उडेको देखिन्छ ।
विरोधकर्ताहरू ह्वाइट हाउसतिर जाँदै गर्दा सुरक्षाकर्मीहरूले भारी मात्रामा अश्रूग्यास, छर्रा र रासायनिक स्प्रे प्रहार गरेका थिए ।
युद्धग्रस्त क्षेत्रमा शत्रुलाई तर्साउनका लागि यस्तो किसिमको शक्ति प्रदर्शन गर्ने गरिएको भए पनि ट्रम्पले दंगा रोक्न यसरी सेना खटाएकोमा उनकै दलका सांसदहरूले समेत आलोचना गरेका छन् । पेन्टागनले नभई ह्वाइट हाउसले नै सेना परिचालन गर्न लगाएको तीन वरिष्ठ रक्षा अधिकारीहरूले बताए ।