मेगा बैंक नेपाल लिमिटेडको विशेष साधारण सभाले गण्डकी विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ ।
बुधवार काठमाडौंमा भएको विशेष साधारण सभामा मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाहले गण्डकी विकास बैंकलाई प्राप्ति गर्नका लागि गरेको प्रस्ताव पारित भएको हो ।
मेगा बैंक र गण्डकी विकास बैंकको शेयर आदानप्रदान अनुपात १ः१ रहेको छ । यो प्राप्ति पश्चात् मेगा बैंकको पुँजी, व्यवसायको आकारका साथै शाखा सञ्चालनमा बृहत वृद्धि भई देशकै एक ठूलो ‘क’ वर्गको वाणिज्य बैंकको रुपमा स्थापित हुने मेगा बैंकका अध्यक्ष शाहले बताए ।
साधारण सभामा बोल्दै मेगा बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले उत्कृष्ट व्यवसाय गरिरहेको गण्डकी विकास बैंकलाई प्राप्ति गरेपछि मेगा बैंकको स्तर अझै बढ्ने बताए ।
ग्राहकको विश्वास जित्दै प्रतिष्ठित ‘बैंक अफ दि एयर’ पुरस्कारबाट समेत सम्मानित भएको स्मरण गर्दै उनले मेगा बैंकको शाखा सञ्जाल प्राप्तिपश्चात् ५८ वटा जिल्लामा फैलने जानकारी दिए । यसैगरी, देशका २७ वटा ‘क’ वर्गका वाणिज्य बैंकमध्ये मेगा बैंक निक्षेपका आधारमा ११ औं स्थान, कर्जाका आधारमा १२ औं र मुनाफाका आधारमा ११ औं स्थानमा रहने सीईओ खुञ्जेलीले जानकारी दिए ।
उनका अनुसार गण्डकीलाई प्राप्ति गरेपछि मेगा बैंकको चुक्ता पुँजी १३ अर्ब १३ करोड हुनेछ भने निक्षेप १ खर्ब २५ अर्बभन्दा बढी र कर्जा १ खर्ब ९ अर्बभन्दा बढी हुने भएको छ । मेगा बैंकको ग्राहक संख्या करीब ११ लाख हुनेछ भने शाखा संख्या २०६ वटा, एक्सटेन्सन काउन्टर ३० वटा, एटीएम १४२ वटा हुनेछन् ।
पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंकको पनि बुधवारकै दिन सम्पन्न विशेष साधारण सभाले समेत गण्डकीलाई मेगा बैंकले प्राप्ति गर्न स्वीकृति प्रदान गरेको छ । गण्डकी विकास बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष शुशील गौचनले यस प्राप्तिका लागि पेश गरेको प्रस्तावलाई विशेष साधारणसभाले पारित गरेको हो । ९६ वटा शाखा सञ्जाल रहेको गण्डकी विकास बैंकको चुक्ता पुँजी २ अर्ब ७५ करोड रहेको छ ।
दुवै बैंकको विशेष साधारण सभाले स्वीकृति दिएसँगै मेगा बैंकलाई गण्डकी विकास बैंक प्राप्ति गर्नका लागि बाटो खुलेको छ । यसै आर्थिक वर्ष भित्रमा गण्डकी विकास बैंकलाई प्राप्ति गरी संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारीहरू भइरहेको मेगा बैंकका अध्यक्ष शाहले जानकारी दिए ।