
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ को संकट व्यवस्थापनमा सहयोग गर्न दातृ निकायलाई आग्रह गरेका छन् ।
मन्त्रिपरिषद्को कार्यालयमा बुधवार भएको छलफलमा मुख्यमन्त्री शाहीले कोभिड–१९ को प्रतिकार्य, रोकथाम, उपचार तथा राहत व्यवस्थापनमा सरकार लागिपरेको भन्दै थप सहयोगका लागि दातृ निकायलाई सहयोग गर्न आग्रह गरे ।
‘रोजगारीको लागि भारत गएका नागरिक फिर्ता भएसँगै कर्णाली प्रदेशमा कोभिड–१९ को संक्रमण बढेको छ,’ उनले भने, ‘यसको प्रतिकार्य तथा रोकथामका लागि दाता एवं साझेदार निकाय सरकारसँग जोडिनुपर्ने बेला आएको छ ।’
हालसम्म भारतबाट फर्किनेको संख्या ३५ हजार पुगेको जनाउँदै मुख्यमन्त्री शाहीले क्वारेन्टाइन, आइसोलेसन व्यवस्थापन र संक्रमण परीक्षणमा सरकारलाई समस्या परेको बताए ।
कर्णाली प्रदेशबाट १ लाख ५० हजार भारत र तेस्रो मुलुकमा रोजगारीका लागि गएको र १ लाख बढी नागरिक फर्कने अनुमान रहेको उनको भनाइ थियो ।
छलफलमा उनले अगाडि भने, ‘कर्णाली प्रदेशमा स्थापना गरिएका २ प्रयोगशाला २४ घण्टा सञ्चालन गर्दा पनि दैनिक ५०० नमूनाभन्दा बढी परीक्षण गर्न सकेको छैन ।’
मुख्यमन्त्री शाहीले क्वारेन्टाइन र आइसोलेसन व्यवस्थापन, पीसीआर प्रयोगशालाको स्थापना, परीक्षणका लागि आवश्यक किट र एम्बुलेन्समा सहयोग गर्न आग्रह गरे । कर्णाली प्रदेशका धेरैजसो नागरिक ३ महिनाका लागि मात्रै रोजगारीका लागि भारत जाने गरेको भन्दै उनले कोरोनाले निम्त्याएको परिस्थितिका कारण रित्तो हात फर्कनुपरेको जिकिर गरे ।
प्रदेश सरकारले रोजगारी गुमाएर फर्किएका अति गरीबीको रेखामुनि रहेका नागरिकका लागि क्वारेन्टाइनमा १४ दिनसम्म रहने अवधिका लागि दैनिक निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको समेत जानकारी उनले दिए । विकास साझेदार संस्थासँगको छलफलमा प्रदेश सरकारका मन्त्री, प्रमुखसचिव, सचिव र संयुक्त राष्ट्रसंघीय निकायका नेपाल प्रतिनिधिको सहभागिता थियो ।