
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसविरुद्धको भ्याक्सिन (खोप) बारेमा भएको एक भर्चुअल शिखर सम्मेलनमा पूर्वयोजनाविनै सहभागी भएका छन्।
यो सम्मेलन बेलायतले आयोजना गरेको थियो, जसको उद्देश्य कोरोना भाइरसविद्धको भ्याक्सिनबारेमा एउटा वैश्विक कोष तयार गर्ने थियो।
राष्ट्रपति ट्रम्पले पछिल्लो हप्ता मात्र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सँग सम्बन्ध तोडेको घोषणा गरेका थिए। र, डब्लूएचओलाई अमेरिकाले दिने ४० करोड डलर अनुदान कटौती गरिदिएका थिए।
उनको यो निर्णयमाथि चीनसहितका कयौँ देशले आलोचना गरेका थिए। कोरोना महामारीको बेला अमेरिकी रबैया ठीक नभएको भनेर आलोचना भएको थियो।
तर, ट्रम्पले सम्मेलनमा भाग लिए। र, आफ्नो संक्षिप्त सन्देश पठाए।
ट्रम्पले भने, ‘कोरोना भाइरस कुनै पनि प्रकारको भेदभाव गर्दैन। यो खराब छ। तर, हामी मिलेर सामना गर्नेछौँ। हामी कडा मिहिनेत गर्नेछौँ। शुभकामना छ, आउनुस् मिलेर जवाफ खोजौँ।’
सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो कोषका लाथि १.५ करोड डलर योगदान गर्ने घोषणा गरेका छन्।