०८ साउन २०८३, शुक्रबार

चीनले भारतलाई दियो चेतावनी– दुई देशको सम्बन्ध खराब नबनाऊ

जेठ २३, २०७७
चीनले भारतलाई दियो चेतावनी– दुई देशको सम्बन्ध खराब नबनाऊ

हतारमा निर्णय लिएर दुई देशबीचको सम्बन्ध नबिगार्न चीनले भारतलाई चेतावनी दिएको छ । 

चीनले यो चेतावनी जी७ समूहमा संलग्न हुने सन्दर्भमा दिएको हो । जी७ समूहको अंग बन्दा भारतलाई कुनै फाइदा नहुने किनकि त्यस समूहका देशले चीनलाई काल्पनिक शत्रु मानेर काम गरिरहेको चीनको भनाइ छ । 

जी७ संसारका आर्थिक महाशक्ति मुलुकहरूको समूह हो । त्यसमा अमेरिका, बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटली र जापान छन् । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले यसलाई विस्तार गरेर भारत, रुस, दक्षिण कोरिया र अस्ट्रेलियालाई पनि समावेश गर्न खोजेका छन् । 

ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेर जी७ मा आउन निमन्त्रणा दिएका थिए र मोदीले त्यसलाई स्वीकार गरेका छन् । 

त्यसपछि चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्सले जी७ को विस्तार गर्ने प्रस्ताव भूराजनीतिक समीकरणलाई लिएर गरिएको र चीनलाई रोक्ने स्पष्ट प्रयास भएको लेख्यो । त्यसै पनि अमेरिकाले भारतलाई इन्डो प्यासिफिक रणनीतिमा समावेश गरेर चीनको प्रभाव क्षीण बनाउने प्रयास गरिरहेको छ । 

ग्लोबल टाइम्सले सम्पादकीयमा लेखेको छ, ‘ट्रम्पको योजनामा भारतले उत्साह देखाउनु आश्चर्यजनक छ । शक्तिको महत्त्वाकांक्षाका कारण भारत लामो समयदेखि संसारका शीर्ष अन्तर्राष्ट्रिय संगठनहरूको सदस्य बन्न लालायित छ । अहिले चीनसँग उसको सीमा विवाद चलिरहँदा ऊ अमेरिकाको जी७ विस्तार योजनामा समर्थन गरेर चीनलाई सन्देश दिन चाहिरहेको छ ।’

सम्पादकीयमा थप लेखिएको छ, ‘भारतका रणनीतिकार र नीतिनिर्माताको सानो समूहले चीनविरोधी सोच राख्छ । चीनको उदय र भारत–चीनबीच शक्तिको विशाल अन्तरले पनि भारतलाई चीनप्रति सशंकित बनाएको छ ।’

तर चीनलाई काल्पनिक शत्रु मान्ने साना समूहसँग हात मिलाउन भारतले हतार गरेमा चीनसँग उसको सम्बन्ध बिग्रने र भारतको हितमा नहुने सम्पादकीयले चेतावनी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्