
काठमाडौं, १४ वैशाख –राजश्व अनुसन्धान विभागका महानिर्देशक रामकृष्ण सुवेदीले राजश्व छल्नेहरूले कानूनी उन्मुक्ति नपाउने बताएका छन् । बिहीवार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सुवेदीले राजश्व छल्नेविरुद्व कडा कारवाही गरिने प्रतिवद्वता जनाएका हुन् ।
राजश्व चुहावटलाई नियन्त्रण गर्न विभाग लागिपरेको उनले बताए । राजश्व चुहावट र आर्थिक अपराधसँग सम्बन्धित मुद्दामा कुनै सम्झौता हुन नसक्ने उनको भनाई थियो ।
स्वच्छ, पारदर्शी र अवरोधरहित व्यवसायीक क्रियाकलापको प्रवद्र्वनमार्फत लगानीमैत्री वातावरणको सृजना गर्न विभाग प्रतिवद्व रहेको उनले बताए ।
राजश्व चुहावट नियन्त्रणका लागि दु्रत र आकस्मिक गस्ति, चुस्त चेकजाँच प्रणाली, संवेदनशिल सिमा नाकामा गस्ती लगायतका गतिविधि गरिरहेकोे विभागले जनाएको छ । त्यस्तै, राजश्व चुहावटका जोखिमयुक्त क्षेत्रमा अनुगमन तथा अनुसन्धान र सुराकीमा आधारित सूचनाको विश्लेषणलाई पनि प्राथमिकताका साथ अघि बढाइएको महानिर्देशक सुवेदीले बताए ।
विभागले २०६२ सालदेखिका राजश्व चुहावटका केसका साथै नयाँ विषयहरूमाथि गम्भीर अध्ययन र अनुसन्धान गरिरहेको उनले बताए ।