०८ साउन २०८३, शुक्रबार

जर्मनीबाट अमेरिकी सैनिक हटाउन ट्रम्पले दिए आदेश, जर्मनीलाई रुस र चीनको डर

जेठ २५, २०७७
जर्मनीबाट अमेरिकी सैनिक हटाउन ट्रम्पले दिए आदेश, जर्मनीलाई रुस र चीनको डर

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सेनालाई जर्मनीबाट ९ हजार ५०० सैनिकहरू फिर्ता बोलाउन आदेश दिएको एक सुरक्षा अधिकारीले जनाएका छन् । युरोपको सुरक्षाका लागि अमेरिकाले गरेको प्रतिबद्धताका सम्बन्धमा यस कदमले चिन्ता जन्माएको छ । 

यस आदेशलाई अवलम्बन गर्दा जर्मनीमा अमेरिकी सैनिकको संख्या २५ हजारमा झर्नेछ । 

नाम खुलाउन नचाहने ती अधिकारीले यो कदम चाल्न महिनौंदेखि जोइन्ट चीफ अफ स्टाफका अध्यक्ष जनरल मार्क मिल्लेले भूमिका तयार पारेको बताए । ट्रम्पले जी७ समूहको बैठक राख्न खोजेको भए पनि जर्मनीकी चान्सलर अंगेला मर्कलले त्यसलाई नकारेकाले ट्रम्प रिसाएर यो आदेश दिएको भन्ने आशंकालाई ती अधिकारीले खारेज गरे । 

जर्मनबाट झिकिएका सैनिकहरूमध्ये कसैलाई पोल्यान्ड, कसैलाई अन्य साझेदार मुलुक पठाइने अनि केही चाहिँ अमेरिका फर्किने बताइएको छ । 

जर्मनीले नाटो सैन्य गठबन्धनको रक्षा खर्चमा बढी योगदान गर्न थालेकाले त्यहाँ अमेरिकी सैनिकहरूको ठूलो जत्था आवश्यक नरहेको ती अधिकारीको भनाइ छ । 

मर्कलको सत्तारूढ गठबन्धनका वरिष्ठ सांसदहरूले ट्रम्पको आदेशको आलोचना गरेका छन् । 

सीडीयू/सीएसयू संसदीय समूहका परराष्ट्र मामिला प्रवक्ता योहान वादेफुलले ट्रम्पको यो कदमबाट नाटो गठबन्धनमा चिरा पर्ने र त्यसबाट चीन तथा रुसलाई फाइदा पुग्ने बताए । ‘गठबन्धन सुचारु रहँदा नाटोका सबै साझेदारलाई फाइदा हुन्छ । वाशिङटनले यसलाई बढी ध्यान दिनुपर्छ,’ उनले भने ।

सुरक्षा नीति बनाउने सवालमा युरोपेलीहरू थप बलियो बन्नुपर्ने सन्देश पनि यसले दिएको वादेफुलको भनाइ छ ।

जर्मनीको परराष्ट्र मन्त्रालयले यसमा टिप्पणी गर्न मानेन ।

salt training

कमेन्ट गर्नुहोस्