१२ असार २०८३, शुक्रबार

लिपुलेकमा बाटो बनाएपनि भारतीयलाई नेपाल नआई मानसरोवर पुग्न मुश्किल

जेठ २५, २०७७
लिपुलेकमा बाटो बनाएपनि भारतीयलाई नेपाल नआई मानसरोवर पुग्न मुश्किल

भारतले नेपाली भूमि अतिक्रमण गरेर मानसरोवर जाने बाटो बनाएपछि उत्पन्न विवादका कारण दुई देशबीच अहिले चिसो सम्बन्ध छ । भारतको लोकप्रिय पत्रिका दैनिक भास्करका पत्रकार राहुल कोटियाल लिपुलेक पुगेर यस विषयमा रिपोर्टिङ गरेका छन् ।

प्रस्तुत छ उनको हिन्दी रिपोर्टको नेपाली रूपान्तरण :

बिहान ५ बजेको छ । भारत–नेपाल सीमामा रहेको धारचूला शहर निद्रबाट ब्युँझेकै छैन । नजिकै बगेकी काली नदीको वेग र चराहरूको चिरबिर धारचूलाका शान्त पहाडमा सुनिन्छ । यसैबीच रविले गाडीको हरन बजाए । 

रविका लागि यो बिहान विशेष छ । उनी पहिलोपटक गाडी चढेर गाउँ जाँदैछन् । उनको गाउँमा मोटर रोड पहिलोपटक पुगेको हो । त्यही सडकको उद्घाटन भारतका रक्षामन्त्री राजनाथ सिंहले हालै गरेका थिए । त्यसले धारचूलालाई लिपुलेक पाससँग जोड्छ । 

रवि नाबी गाउँमा बस्छन् जुन व्यास उपत्यकाको सबभन्दा सुदूर गाउँ हो । 

रवि भन्छन्, ‘यस सडकको निर्माण दुवैतर्फबाट गरिएको थियो । अर्थात्, लिपुलेकभन्दा मुनि र तवाघाटभन्दा माथि । माथिल्ला भागमा त सडक निकै अघि बनिसकेको थियो । कालापानीभन्दा माथि र मेरो गाउँसम्म पनि सडक पुगिसकेको थियो । त्यहाँ सेना र आईटीबीपीका गाडीहरू कैयौं वर्षदेखि चलिरहेका थिए । तर ती गाडीलाई एयरलिफ्ट गरेर त्यहाँ पुर्‍याइएको थियो । तलतिर यी सडकहरू नजंगभन्दा अघि पुगेका थिएनन् । त्यसैले हाम्रो गाउँ सीधै धारचूलासँग जोडिएको थिएन । पहिलोपटक सडक पुगेको हो ।’

उत्तराखण्डबाट कैलाश मानसरोवर यात्रा धारचूलाबाट शुरू भएको हो र छैठौं दिन लिपुलेक हुँदै चीन पुगिन्छ । सडक बन्दा अब गाडीबाट तीन दिनमा मानसरोवर पुग्न सकिन्छ । 

सडक निर्माणसँगै व्यास उपत्यकामा रहेका सबै गाउँ र लिपुलेक पनि भारतसँग सीधै जोडिएको छ । लिपुलेकबाटै कैलाश मानसरोवर यात्रा गरिन्छ । यसले गर्दा कैलाश मानसरोवर जाने यात्रीहरूलाई निकै सहज भएको छ ।
तर यत्रो मेहनत गरेर लिपुलेकलाई सडक मार्गसँग जोड्ने भारत सफल भए पनि यो वर्ष मानसरोवर यात्रा हुने सम्भावना छैन । 

कोरोना संक्रमणका कारण यस वर्ष यात्रा रद्द गरिने सम्भावना छ । सन् १९६२ मा भएको भारत–चीन युद्धपछि सन् १९८० को दशकमा यात्रा पुनः सुचारु गरिएयता पहिलोपटक यात्रा नहुने देखिएको छ । 

यात्रा स्थगित हुँदा यस क्षेत्रका सयौं मानिसलाई असर पर्ने देखिन्छ । आदि कैलाश मन्दिर समितिका अध्यक्ष लक्ष्मण कुटियाल भन्छन्, ‘यस क्षेत्रमा सयौं मानिस यात्रामा निर्भर छन् । धारचूला र वरपरका गाउँबाट अनेकौं युवक यात्रीहरूको सहायक बनेर लिपुलेकसम्म पुग्छन् र अन्य सयौं चाहिँ घोडा खच्चरमा यात्रीहरूको सामान बोक्छन् । यी मानिसहरूको जीविकाको मुख्य स्रोत नै यही हो र यो वर्ष यात्रा बन्द हुने देखिन्छ ।’

लिपुलेक हुँदै मानसरोवरको यात्रा सन् १९८१ बाट शुरू भएको हो । त्यो बाटोमा यात्रीहरूले खतरनाक मोडहरू पार गर्नुपर्ने हुन्छ । नयाँ बाटोले यो खतरा कम गराउनेछ अनि समय पनि बचाउनेछ । 

कोरोना महाव्याधिका कारण यस वर्ष यात्रा स्थगित भए पनि लिपुलेकसम्मको सडक बन्दा आगामी वर्षहरूमा यात्रा सहज हुनेछ । यसले स्थानीयहरूको व्यापार बढ्ने आहा छ । यस विषयमा लक्ष्मण कुटियाल भन्छन्, ‘सडक बनेपछि अवश्यै स्थानीयहरूको व्यापार बढ्छ तर कैलाश मानसरोवर यात्राको कारण हैन किनकि यात्रीको संख्या चीनले निश्चित गर्छ । एक वर्षमा एक हजार भारतीय यात्री मात्र मानसरोवर जान पाउँछन् । यात्रीको संख्या बढेमा स्थानीयहरूलाई फाइदा हुन्छ तर चीनको सहमपत विना त्यो सम्भव छैन ।’

उनी थप्छन्, ‘भारतबाट जम्मा एक हजार यात्रीहरूलाई कैलाश मानसरोवर जाने अनुमति छ भने नेपालबाट २० देखि ३० हजार यात्री प्रत्येक वर्ष मानसरोवर जान्छन् । भारतीयहरू पनि नेपालकै बाटो भएर जाने गरेका छन् किनकि त्यहाँ यात्राका औपचारिकता एकदमै कम छन् र त्यहाँ निजी ट्राभल एजेन्टले नै सबै व्यवस्था गरिदिन्छन् । लिपुलेकको बाटो हुँदै यात्रा गर्न निजी ट्राभल एजेन्टलाई छुट दिइएमा अनि यात्रीहरूको संख्या बढाउनका लागि भारत र चीनबीच सम्झौता भएमा स्थानीय मानिसले लाभ लिन सक्छन् ।’

नेपाल जस्तै भारतमा पनि कैलाश मानसरोवरको यात्रा व्यवस्थापन निजी ट्राभल एजेन्टहरूलाई दिन सकिन्छ त ? यसको उत्तर दिँदै पत्रकार गोविन्द पन्त राजू भन्छन्, ‘यसको सम्भावना लगभग शून्य छ र त्यसको उचित कारण पनि छ । पहिलो त, लिपुलेक एकदमै संवेदनशील क्षेत्र हो । राष्ट्रिय सुरक्षाको दृष्टिले यो महत्त्वपूर्ण इलाका हो । त्यहाँको भौगोलिक संरचना पनि नेपालबाट गरिने यात्राको तुलनामा कठिन छ । निजी क्षेत्रलाई यात्रा व्यवस्थापन सुम्पिन सम्भव छैन ।’

नयाँ सडकको उद्घाटन गर्दै भारतका रक्षामन्त्री राजनाथ सिंहले कैलाश मानसरोवर यात्रीको उल्लेख जोड दिएर गरेका थिए । सडक बनेपछि कैलाश यात्रा तीन हप्ताबाट घटेर एक हप्तामा पूरा हुने उनको भनाइ थियो । भारतको तुलनामा नेपालले जुन अग्रता लिएको छ त्यसलाइृ भेट्न भारतलाई गाह्रै पर्छ । लिपुलेकबाट यात्रा सुलभ हुँदा पनि यात्रीहरूको संख्या निर्धारण गर्ने चीनले नै हो ।’

कैलाश मानसरोवरको भौगोलिक दूरी लिपुलेकबाट छोटिने भए पनि चीनसँगको राजनीतिक दूरी नेपालको तुलनामा निकै बढी छ । त्यसैले छोटो बाटो बनाए पनि धेरैजसो भारतीयहरूले कैलाश मानसरोवरको यात्रा नेपाल भएर नै गर्नुपर्ने देखिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्