
इक्वेडरले बलियो टोली जर्मनीलाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को नकआउट चरणमा स्थान पक्का गरेको छ । सन् २००६ पछि इक्वेडर विश्वकपको समूह चरण पार गर्न सफल भएको यो पहिलो पटक हो ।
रोमाञ्चक जितसँगै ४ अंक जोडेर समूह 'ई' को उपविजेता बन्दै इक्वेडर अघिल्लो चरणमा प्रवेश गरेको हो । अब नकआउट चरणमा उसको भेट आगामी मंगलबार मेक्सिको सिटीमा आयोजक मेक्सिकोसँग हुने सम्भावना बलियो बनेको छ ।
चार पटकको विश्वकप विजेता जर्मनी यसअघि नै शुरूआती दुई खेल जितेर अघिल्लो चरणमा पुगिसकेको थियो । खेलको दोस्रो मिनेटमै लेरोय सानेले गोल गर्दै जर्मनीलाई शुरूआती अग्रता दिलाएका थिए ।
तर, जर्मनीको यो अग्रता धेरै समय टिक्न सकेन । खेलको नवौँ मिनेटमा मिल्सन एङ्गुलोले गोल गर्दै इक्वेडरलाई १–१ को बराबरीमा ल्याए । आइभोरी कोस्टसँग १–० को पराजय र कुरासाओसँग ०–० को बराबरी खेलेको इक्वेडरका लागि प्रतियोगितामा यो पहिलो गोल थियो ।
दोस्रो हाफ शुरू भएको ३० सेकेन्डमै जोएल ओर्डोनेजले काई हाभर्ट्जलाई लडाएपछि रेफ्री पेन्सोले शुरूमा जर्मनीलाई पेनाल्टी किक दिएकी थिइन् । तर, भिडियो असिस्टेन्ट रेफ्रीको पुनरावलोकनपछि सानेले पहिले नै विटेमाथि फाउल गरेको देखिएकाले उक्त पेनाल्टी रद्द गरिएको थियो ।
खेलको ७७औँ मिनेटमा २५ वर्षीय विङ्गर गोन्जालो प्लाटाले इक्वेडरका लागि ऐतिहासिक गोल गरे ।
जितसँगै जर्मनीको लगातार ११ खेलको जितको यात्रामा पनि पूर्णविराम लागेको छ । जर्मनी सन् १९७९–८० मा कायम गरेको आफ्नो ऐतिहासिक १२ खेलको लगातार जितको रेकर्ड बराबरी गर्नबाट एक खेलले चुक्यो ।
जर्मनीले अब आगामी सोमबार फक्सबोरोमा पराग्वे, अस्ट्रेलिया वा स्विडेनमध्ये एकसँग अन्तिम ३२ को खेल खेल्नेछ ।
न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको उक्त खेलमा ८० हजार ६६३ दर्शक उपस्थित थिए, जसमा अधिकांश इक्वेडरको पहेंलो जर्सीमा सजिएका थिए ।