२३ असार २०८३, मंगलबार

चीनले कोरोनाभाइरसको खोप बनाउन अवरोध गरेको अमेरिकी सिनेटरको आरोप

जेठ २५, २०७७
चीनले कोरोनाभाइरसको खोप बनाउन अवरोध गरेको अमेरिकी सिनेटरको आरोप

अमेरिकाको रिपब्लिकन पार्टीका एक सिनेटरले पश्चिमा मुलुकमा कोभिड–१९ को खोप बन्न चीनले अवरोध गरेको र त्यसलाई तुहाउन खोजेको प्रमाण रहेको दाबी गरेका छन् । 

रिक स्कटले अमेरिकाका जासूसी समुदाय र सेनासँग यसको प्रमाण रहेको बताए तर थप विवरण दिएनन् । 

चीनले भाइरसविरुद्ध चालेका कदमका विषयमा एउटा दस्तावेज जारी गरेको छ र अमेरिकालाई जनवरी ४ मा खबर दिएको बताएको छ । 

आइतवारसम्म कोरोनाभाइरसका कारण चार लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ । 

फ्लोरिडाका सिनेटर स्कटले बीबीसीको एन्ड्रु मार शोमा भने, ‘हामीले खोप बनाइहाल्नुपर्नेछ । दुर्भाग्यवश कम्युनिस्ट चीनले हाम्रो प्रयास तुहाउन वा ढिलो गराउन खोजिरहेको छ र त्यसको प्रमाण हामीसँग छ ।’

उनले थपे, ‘हामी अर्थतन्त्र खोल्न चाहन्छौं तर सबैजनालाई खोपको सुनिश्चितता भएमा ढुक्क तरिकाले खोल्न सकिन्थ्यो ।’

‘चीनले अमेरिका, बेलायत वा युरोपले खोप बनाएको देखिसहँदैन । चिनियाँहरू अमेरिका र संसारभरिका लोकतन्त्रको शत्रु बन्न खोजिरहेका छन् ।’

स्कट राष्ट्रपति डोनल्ड ट्रम्पका कट्टर समर्थक हुन् । उनले चिनियाँ प्रयासको प्रमाण जासूसी समुदायबाछ आएको तर कतिपय कुरा आफूले बताउन नमिल्ने बताए । 

उनले थपे, ‘बेलायत वा अमेरिकाले पहिला खोप बनाएमा हामी साझा गर्नेछौं । कम्युनिस्ट चीनले चाहिँ यसलाई साझा गर्ने छैन ।’

चीनले संसारमा प्रभुत्व जमाउने निर्णय लिएको पनि उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्