
नेपाली कांग्रेसकी सांसद पार्वती डीसी चौधरीले सीमा सुरक्षा गर्नुपर्ने नेपाली सेना व्यापारमा लागेको भन्दै अब सीमा सुरक्षाका लागि छुट्टै फोर्स गठन गर्नुपर्ने व्यंग्य गरेकी छन् ।
विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफका क्रममा प्रतिनिधि सभा बैठकमा सोमवार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई पुरक प्रश्न सोध्ने क्रममा सांसद डीसीले स्वास्थ्य सामाग्री खरिदको जिम्मा सेनालाई दिइएकोप्रति विरोध जनाएकी हुन् ।
‘नेपाली सेना ठेकदार र व्यापारी भएछ,व्यापार गर्न दिनुभयो ठीकै भयो । अब सीमा सुरक्षाका लागि नयाँ फोर्स गठन गरौँ र नाम राखौं – नेपाली गोर्खाली सुरक्षा फोर्स,यसो गर्दा कसो होला ?’ सांसद डीसीले प्रश्न गरिन ।
जवाफमा मन्त्री ढकालले विपतको समयमा स्वास्थ्य सामाग्री छिटो ल्याउन सेनालाई समावेश गरिएको बताए । ‘सरकारले सरकारसँग (जीटूजी) मार्फत खरिद गर्दा छिटो आउने विश्वासमा गरिएको हो,विपत र संकटको बेला सेनालाई परिचालन गर्न सकिने संवैधानिक व्यवस्थाको परिचालन गरिएको हो । महामारीविरुद्ध त्यो शक्तिलाई लगाउने संवैधानिक व्यवस्था हो,’ मन्त्री ढकालले भने ।
सांसद डिसीले अर्को प्रश्न गरिन्,‘गलत रिर्पोट दिने आरडीटी टेस्टप्रति मन्त्रीज्यूको को यति धेरै मोह किन ? आरडिटी बन्द गरौँ,पीसीआर टेष्ट गरौँ ।’
मन्त्री ढकालले असार १५ देखि प्रतिदिन १० हजार जनाको पीसीआर टेस्ट गरेर परीक्षणको दायरा बढाउने उनले बताए । ‘पीसीआरलाई अझ धेरै र प्राथमिकता हो । पीसीआरबाट जानुपर्छ कुरामा सरकार सहमत छ,’ मन्त्री ढकालले भने ।