
खानेपानी मन्त्री बिना मगरले आगामी आर्थिक वर्षदेखि मेलम्ची खानेपानी आयोजनाको बारेमा प्रश्न उठाउने अवस्थाको अन्त्य हुने बताएकी छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत खानेपानी मन्त्रालयका विभिन्न शीर्षकमा विनियोजन भएको बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री मगरले मेलम्ची आयोजनाका विषयमा वर्षौंदेखि उठ्दै आएका प्रश्नको विट मार्ने समय आइसकेको बताएकी हुन्।
उनले मेलम्ची खानेपानी आयोजनाको भौतिक निर्माण चालु आर्थिक वर्षमा सम्पन्न गरेर उद्घाटनको मिति सार्वजनिक गर्ने तयारीमा मन्त्रालय रहेको संसदलाई जानकारी दिइन्।
खानेपानी मन्त्रालयको आगामी वर्षको बजेट विनियोजन र कार्यक्रमबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री मगरले भनिन्, 'मेलम्ची खानेपानीका सन्दर्भमा उठाइएका प्रश्नकोहरुको बिट मार्ने बेला आएको छ । खानेपानी मन्त्रालय र नेपाल सरकारले मेलम्ची खानेपानीको बिट छिट्टै मार्दैछ । हामी मेलम्ची खानेपानीको उद्घाटनको समय सार्वजनिक गर्ने तयारीमा छौं, भन्ने जानकारी गराउन चाहन्छु ।'
विगत दुई दशकदेखि मेलम्ची खानेपानी आयोजनाले उपत्यकाबासीलाई आशा र निराशा मात्रै दिएको बताउँदै मन्त्री मगरले त्यसको अब अन्त्य हुन लागेको बताइन्। 'विगत दुई दशकदेखि मेलम्ची खानेपानीले आशाहरू सँगसँगै उब्जाएका निराशाहरू अन्त्यको समय आएको छ,' उनले भनिन्।
मेलम्ची खानेपानीको भौतिक पूर्वाधारको निर्माण चालु आर्थिक वर्षमा सम्पन्न गर्ने र आगामी आर्थिक वर्ष ०७७/७८ मा त्यसको वितरणको कार्यलाई व्यवस्थित गरिने मन्त्री मगरको भनाइ थियो । उनले काठमाडौं उपत्यका खानेपानी लिमिटेडले उक्त पानी वितरण गर्ने तयारी गरिरहेको र अहिले काठमाडौं उपत्यकामा वितरण गरिँदै आएको पानीलाई उपत्यकाका अन्य क्षेत्रमा वितरण गर्ने तयारी भइरहेको जानकारी दिइन्। 'भौतिक काम चालु आर्थिक वर्षमै सम्पन्न हुने र त्यसको वितरण प्रणालीलाई अबको आर्थिक वर्षमा व्यवस्थित ढंगले गराउने जानकारी गराइसकेका छौं,' उनले भनिन्।